आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने एडिबीको प्रक्षेपण

यो वृद्धिलाई विगत १० वर्षको औसत वार्षिक वृद्धिभन्दा उल्लेखनीय

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले गत आर्थिक वर्ष ०७४÷७५ मा नेपालले ५ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको जनाएको छ । गत वर्षमा अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएको एडिबीले जनाएको छ ।

एडिबीले सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशत विन्दुले कम हो । विभागले गत वर्षमा ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो ।  एडिबीले गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव ८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६ दशमलव ६ प्रतिशतले भएको जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहहरूमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडिबीले उल्लेख गरेको छ । एडिबीले आव ०७५÷७६ मा आर्थिक वृद्धि ५ दशमलव ५ प्रतिशतमा सीमित हुने पनि प्रक्षेपण गरेको छ ।

यद्यपि, उसले यो वृद्धिलाई विगत १० वर्षको औसत वार्षिक वृद्धिभन्दा उल्लेखनीय भएको जनाएको छ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण चालु आवमा औद्योगिक क्षेत्रमा ७ दशमलव २ प्रतिशतको वृद्धि हुने अनुमान छ ।

चालु वर्षमा सेवा क्षेत्रमा ६ दशमलव १ प्रतिशतको सुधार देखिने उसको प्रक्षेपण छ ।

प्रतिक्रिया