अन्योलमा प्रतिवेदन, विवरण गुपचुप

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई छानबिन प्रतिवेदन बुझाएको छ । तर, गृहले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

कारागार व्यवस्थापन विभागका प्रमुख हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानबिन समितिका केही सदस्यले प्रतिवेदनका केही विषय सार्वजनिक गरेका छन् ।

उनीहरूका अनुसार, घटनापछिका गतिविधिमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटि’ रहेको समितिको ठहर छ । समितिले तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग बयान लिएको थियो ।

बयानका क्रममा खड्काले आफूले गोली नचलाउनू भन्दै प्रहरी उपरीक्षक विष्टलाई लिखित आदेश दिएको बताएका थिए । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा कञ्चनपुरमा पटक–पटक गोली चलेको थियो ।

समितिले दिएको प्रतिवेदनअनुसार छानबिनका क्रममा एसपी विष्टले तत्कालीन प्रमुख जिल्ला अधिकारीले दिएको लिखित आदेशअनुसार नै आफूले काम गरे पनि फिल्डमा काम गर्नेले गोली चलाइसकेपछि मात्र रिपोर्ट गरेको बयान दिएका छन् ।

‘स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मात्र गोली चलाउनुपर्ने भए पनि प्रहरी उपरीक्षक विष्टले समन्वय नै नगरेको प्रतिवेदनमा उल्लेख छ । तर, प्रतिवेदनको मूलभूत विषय भने गुपचुप राखिएको छ । समन्वय अभाव र एसपीको कमजोरीका कारण घटनाक्रम एकपछि अर्को गर्दै झन् जोखिमपूर्ण बन्दै गएको प्रतिवेदनमा उल्लेख छ।

कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कञ्चनपुरमा प्रहरीले गोली चलाएपछि पटक–पटक आफूले प्रहरी उपरीक्षक विष्टलाई फोन गर्दा उनले फोनसमेत नउठाएको बयान दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीसँगको समन्वयविना प्रहरी उपरीक्षक विष्टले किन गोली चलाउने आदेश दिए ? समितिले यसबारे गम्भीर प्रश्न उठाएको छ । छानबिन समितिले प्रमुख जिल्ला अधिकारी, एसपी र डिएसपीका ड्राइभरसँग समेत बयान लिएको थियो ।

छानबिन समितिले निर्मलाको शव भेटिएको स्थललाई प्रहरीले जसरी सुरक्षित गरेर प्रमाण संकलन गनुपर्ने थियो, त्यसमा लापरबाही गरेर गम्भीर त्रुटि गरेको उल्लेख गरेको छ । ‘निर्मलाको सुरुवाल धुने, शरीरमा लागेको माटो पखाल्ने लगायतका कार्य प्रहरी अनुसन्धानको मर्मअनुसार देखिएन,’ प्रतिवेदनमा भनिएको छ । घटनास्थलबाट प्रमाण संकलनमा लापरबाही हुँदा घटनाको अनुसन्धान थप जटिल बनेको छ ।

समितिले निर्मला पन्तको हत्यापछि भएको आन्दोलन, अनुसन्धानको क्रममा भएको कमजोरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको प्रहरी टोलीले गरेको काम–कारबाहीलगायत समग्र विषयमा छानबिन गरेको थियो । प्रहरी कर्मचारीका सम्बन्धमा आन्तरिक छानबिन गर्नका लागि एआइजी धिरु बस्न्यातको नेतृत्वमा बनेको छुट्टै समितिले काम गरिरहेको छ ।

यसअघि चर्चा गरिँदै आएको ‘सन्दिग्ध हत्यारा’ बारे भने केही सार्वजनिक गरिएको छैन । प्रतिवेदन बुझाउने क्रममा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश–७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव वीरेन्द्र केसीलगायत उपस्थित थिए ।

समितिको अनुसन्धान विशेषतः प्रहरीमाथि नै केन्द्रित भएको छ । घटनाको अनुसन्धानमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले प्रमाण जोगाउन सकेनन् वा नष्ट गरे भन्ने विषयमा पनि अनुसन्धान गरिएको स्रोतको भनाइ छ । ‘घटनामा प्रहरीको कमजोरी त देखिइसकेको छ, तर एसपीको के–कति भूमिका छ भन्नेमा पनि अनुसन्धान समिति केन्द्रित भएको छ,’ एक अधिकारीले भने, ‘प्रतिवेदनको अध्ययनपछि उनलाई कुन हदसम्मको कारबाही गर्ने वा बर्खास्त गर्ने भन्ने निर्णय हुन्छ ।’

गोली चलाइएको घटनामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच समन्वय नभएको देखिएको छ । यसअघि, गृहले घटनास्थलमा निर्मलाको कपडा पखाल्ने प्रहरी जवान, तत्कालीन एसपी र सिडिओका सवारी चालक लगायतसँग बयान लिएको थियो । दिलीपसिंह विष्टको उपचारमा गृहले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

डिएनए नमिलेपछि साधारण तारेखमा छाडिएका दिलीपसिंहको उपचारका लागि गृहमन्त्रायलले सघाउने भएको छ । विष्टका दाजुले माग गरेपछि उनलाई उपचार खर्च उपलब्ध गराउने निर्णय भएको हो । बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । घटना घटेको दुई महिना बित्दासमेत सरकारले अझै अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया