चीनमा बेहुली शुल्क घटाइयो

बेइजिङ । चीनमा महिलाभन्दा पुरुषको संख्या तीन करोड बढी रहेको छ, जसलाई विश्वमै सबैभन्दा ठूलो अन्तर मानिन्छ । यसमा चीनले दशकौँसम्म अपनाएको एक सन्तान नीति प्रमुख रूपमा जिम्मेवार रहेको बताइएको छ । जसले ग्रामीण क्षेत्रका युवालाई सबैभन्दा बढी समस्यामा पार्दै आएको छ ।

त्यहाँका अधिकांश युवतीहरूमा शिक्षा, पेसालगायत कारणले सहर भित्रिने र फर्किएर नआउने प्रवृत्ति बढ्दै गएपछि गाउँमा विवाहयोग्य महिलाको अभाव हुने गरेको छ । यस्तोमा गाउँमा बाँकी रहने थोरै महिलाहरूमध्ये एकजनासँग विवाह गर्न मात्र २० भन्दा बढी पुरुष आउने गर्दा उनीहरूले चाहेजति बेहुली शुल्क असुलिरहेको पाइएको छ ।

यसरी चीनमा दाइजोजस्तै गरी बेहुलाले आफूले विवाह गर्ने युवतीलाई निश्चित रकम दिनुपर्ने चलन परम्परागत रूपमा व्याप्त रहँदै आएको छ । अन्तराष्ट्रिय सञ्चार मिडियाहरूका अनुसार १९५० देखि ७० को दशकसम्म बेहुलीलाई थर्मस त्यसपछि पलङलगायत फर्निचर, रेडियो वा घडी दिइने चलन थियो ।

तर, चिनियाँ अर्थतन्त्र सबल बनेसँगै यो चलनमा पनि लगातार बदलाव आइरहेको देखिएको छ जसमा मानिसहरूले टिभी, फ्रिजबाट हाल उच्च क्यास पैसाको माग राख्न सुरु गरेको बताइएको छ । यस्तोमा गाउँमा विपन्न परिवारका पुरुषहरू अविवाहित रहने समस्या बढ्दै गएको पाइएको हो ।

त्यसैकारण स्थानीयवासीहरू मिलेर यसमा नयाँ नियम लागू गर्ने तय गरेका हुन् । हाल बेहुलीलाई दिइने रकम ३८ हजार डलर वा वार्षिक आम्दानीको पाँच गुना रकम रहेको छ । तर, स्थानीयहरूले अबबाट यसलाई सीमित गराउँदै २९ सय डलर बनाउने घोषणा गरेका हुन् जसको पालन नभएमा सो विवाहलाई मानव तस्करीका रूपमा लिइने चेतावनी दिइएको छ ।

उनीहरूले स्थानीय विवाह र स्थानीय बालबालिकाको संख्या बढाउनकै लागि उच्च बेहुली शुल्क न्यून गराउन यस्तो कदम उठाइरहेको बताएका हुन् । यसअघि, बेहुली शुल्कको प्रवृत्तिले चीनका अधिकांश ग्रामीण क्षेत्रमा बस्ने पुरुषहरूलाई विवाहबारे निरुत्साहित गर्ने गरेको थियो ।

त्यसकारण पनि स्थानीयहरूले ल्याएको सो नियमले युवाहरूमा नयाँ आशा पलाउने विश्वास गरिएको छ । तर, पनि अझै सबैले यसलाई पालन गर्नेबारे शंका व्यक्त गरिएको हो ।

किनकि धेरै परिवारले आफ्नो छोराका लागि उपयुक्त श्रीमती खोज्न जतिसुकै ठूलो मूल्य चुकाउन पनि सहमत हुने गरेको पाइएको छ भने छोरी हुने मातापिताले पनि आफ्नो इच्छाअनुसार माग राखे मात्र निष्पक्ष हुने अडान लिँदै आएका छन् । तर, अझै पनि यसले ग्रामीण समाजमा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया