अमेरिकाले व्यापार युद्ध थाल्यो : चीन


बेइजिङ । चिनियाँ सामानमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ । दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार युद्ध झन् चर्काउने गरी यो अमेरिकाको अहिलेसम्मकै ठूलो कदम हो । चीनले असन्तुलित व्यापार अभ्यासहरू गरेको भन्दै अमेरिकाले थप २ सय अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा कर लगाएको छ ।

त्यसको जवाफमा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाएको छ । चीनले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्ध सुरु गर्यो ।’ पछिल्लो कदमसँगै गत जुलाईयता अमेरिकी करबाट २ सय ५० अर्ब डलर बराबरको चिनियाँ निर्यात प्रभावित हुने भएको छ ।

यसको अर्थ, चीनले अमेरिकामा गर्ने करिब आधाजति निर्यातमाथि नयाँ कर लाग्नेछ । सञ्चारमाध्यमहरूका अनुसार चीनले अमेरिकासँगको थप व्यापार वार्तालाई रद्द गरेपछि पछिल्लो तनाव बढेको हो । नयाँ अमेरिकी कर करिब ६ हजार प्रकारका चिनियाँ वस्तुमा लाग्नेछ, जुन वासिंगटनबाट लगाइएको अहिलेसम्मकै ठूलो चरणको कर हो ।

त्यसको प्रभाव हातेझोला, चामल र कपडाजस्ता चिनियाँ उत्पादनमा पर्नेछ । यद्यपि, स्मार्ट घडी र एक प्रकारको कुर्सीमा चाहिँ त्यो लागू हुनेछैन । चिनियाँ उत्पादन आयात गर्ने अमेरिकी कम्पनीहरूले अब १० प्रतिशत अतिरिक्त लेबी तिर्नुपर्ने हुन्छ ।

दुई देशले कुनै सहमति गरेनन् भने सन् २०१९ को सुरुबाट करमा २५ प्रतिशतले वृद्धि हुनेछ । अमेरिकामा निर्मित साना विमान, कम्प्युटर तथा कपडामा अतिरिक्त ५ प्रतिशत कर लगाउन लागिएको छ । त्यस्तै, अमेरिकामा उत्पादित रसायन, मासु, गहुँ तथा रक्सीमा बेइजिङले १० प्रतिशत अतिरिक्त कर लगाउन लागेको छ ।

यो वर्ष मात्रै अमेरिकाले तीन चरणमा गरी २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाएको छ । यसअघि, दुई छुट्टाछुट्टै चरणमा उसले ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउन’ आफूले पछिल्ला कदमहरू चालेको बताउँदै आएका छन् ।

प्रतिक्रिया