चलायमान संगठनहरू निस्क्रिय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला तहका कमिटिहरूबीच एकता नहुँदा सधैँ चलायमान देखिने संगठनहरू लामो समयदेखि निस्क्रिय हुन पुगेका छन् । सदैव विभिन्न कार्यक्रम गर्दै सडक र विकासका दुवै काममा देखिने संगठनहरू अहिले गुमनाम अवस्थामा पुगेका हुन् ।

आफ्नै दल विगतमा सत्तामा रहँदा पनि विरोधमा उत्रने तल्ला कमिटी अहिले कुनै किसिमको भूमिका देखिएका छैनन् । मुख्यगरी, पार्टीका चलायमान संगठनको रूपमा चिनिएका विद्यार्थी र युवाका संगठनहरू अहिले अपांगजस्ता भएका छन् ।

भर्खर मात्र प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको नेकपाले अझै तल्ला तहको कमिटीलाई एकिकरण गर्न सकेको छैन । प्रदेश कमिटीले समेत पूर्णता पाएको छैन ।

आफ्नो पार्टी सरकारमा रहेका वेला पेट्रोलियम पदार्थ वृद्धि भएको, दसैंतिहारमा कालाबजारी नियन्त्रण, दिनहुँ वलात्कारका घटना भइरहँदा जस्ता क्रियाकलापका विरुद्ध जुनसुकै वेला सयाँै कार्यकता लिएर आन्दोलनमा उत्रने युवा र विद्यार्थी संगठन अहिले चुपचाप रहेका छन् ।

पार्टीले एकता प्रक्रिया नटुंगिदासम्म अन्य गतिविधिमा रोक लगाएकोले अहिले ती संगठन चुपचाप रहेका छन् । सबै कमिटीको ध्यान एकता प्रक्रियामा रहेको र आफ्नो स्थान कहाँ पर्ने हो भन्ने डरमा कोही पनि सक्रिय छैन ।

उनीहरू सार्वजनिक सरोकारका गतिविधिमा संलग्न हुनुभन्दा पनि आफ्नो स्थान सुरक्षित गर्न नेताको घर धाउन थालेका छन् । पछिल्लोपटक युवा संगठनले माइतीघरमा झण्डा गाड्ने र वसन्तपुरमा लोकतन्त्र मेलामा मात्र सहभागी भएको छ । त्यसभन्दा अगाडि ती युवा संगठन एकतामा अल्झिएकोले खासै गतिविधि गरेका छैनन् ।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), युवा संगठन, युवा संघ नेपाल र योङ कम्युनिस्ट लिग (वाईसिएल) जस्ता संगठनले सरकारलाई खबरदारी गर्ने गरेता पनि अहिले संगठनकै एकतामा अल्झेर केही क्रियाकलापसमेत गर्न पाएका छैनन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामको समर्थन र विना कारण सरकारको आलोचना गर्नेमाथि वैचारिक रूपमा बहसमा उत्रन निर्देशन दिए पनि त्यसको समेत पालना हुन सकेको छैन ।

प्रदेश कार्यदलले जिल्ला कमिटीलाई पूर्णता गर्दै प्रतिवेदेन सचिवालयलाई दिए पनि अझै पूर्णता पाएको छैन । जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्न नसक्दा पनि कुनै गतिविधि गर्न पाएका छैनन । युवा र विद्यार्थीजस्तै २१ वटा जनवर्गीय संगठनका क्रियाकलाप ठप्प भएका छन् ।

महेन्द्रनगरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्न माग गदै विभिन्न संगठन आन्दोलनमा उत्रिए पनि सत्तासिन पार्टीका युवा र विद्यार्थी संगठन चुप लागेर बसेका छन् । जुन सरकार आए पनि सधैँ अन्यायका विरुद्ध प्रतिपक्षमा रहेर लड्ने युवा र विद्यार्थी संगठन पार्टीले चाँडो एकीकरण नगर्दा अपांगजस्ता भएका हुन् ।

यसैगरी, दसैँको मुखमा यातयात व्यवसायीले १० प्रतिशत भाडा वृद्धि गर्दा पनि ती संगठन चुपचाप रहेका छन् । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जुन आशा र उर्जाका साथ सधैँ प्रतिपक्षमा रहनुपर्ने थियो त्यो नभएको स्वीकार गर्दछन् । उनले अहिले एकता प्रक्रियाको चरणमा रहेकोले थप कार्यक्रम गर्न नपाएको बताए ।

‘पार्टीले पनि छुट्टा–छुट्टै गतिविधि गर्न नपाइने भनेर रोक लगाएको छ’ उनले भने, ‘अनि पार्टीले पनि गतिविधि गर्न स्पष्ट निर्देशन नदिँदा यस्तो अवस्था आएको छ ।’ पौडेलले एकतापछि संगठनलाई मुलुकको आर्थिक विकास र समृद्धिसँग जोड्नका लागि क्रियाशील हुने बताए ।

यस्तै, अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि एकता प्रक्रियाका कारण गतिविधि गर्न नपाएको बताए । ‘हामी विद्यार्थी संगठन सधैँ प्रतिपक्षको भूमिमा रहन्छौँ’ उनले भने, ‘अहिले हामीले सरकारलाई ज्ञापन पत्र बुझाउने, विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण त गराइरहेका छाँै । तर, एकताको कारणले हामी सडकमा उत्रन पाएको छैनौँ ।’

प्रतिक्रिया