निजी आवास पुनर्निर्माणमा थप ४ वर्ष

काठमाडौं । निजी आवास पुनर्निर्माणका लागि थप चार वर्ष लाग्ने भएको छ । तीन वर्ष बितिसक्दा ३६ प्रतिशत मात्र पुनर्निर्माण सम्पन्न भएकाले शत प्रतिशत सम्पन्न गर्न अरू चार वर्ष लाग्ने देखिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पको पाँच वर्षभित्रमा पुनर्निर्माण सम्पन्न गर्ने योजना अनुरूप काम सञ्चालन भएको थियो । तीन वर्षमा ३६ प्रतिशत काम भएसँगै आगामी अहिले कै गतिमा काम हुने हो भने निजी आवास पुनर्निर्माण सम्पन गर्नका लागि सात वर्ष लाग्ने देखिएको छ ।

०७२ को भूकम्पमा ८ लाख ३२ हजार ३ सय ६ निजी आवास क्षतिग्रस्त भएका थिए । जसमध्ये, हालसम्म २ लाख ८३ हजार ८ सय ७ अर्थात ३६ प्रतिशत मात्र निजी आवास निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । यता, प्राधिकरणले भने आगामी दुई वषभित्र पुनर्निर्माणसम्बन्धी सबै काम सम्पन्न गर्ने योजनाका साथ कामलाई अघि बढाइएको दावि गरेको छ ।

५ लाख ४८ हजार ४ सय ९ सय ९ निजी आवासको पुनर्निर्माणको काम सञ्चालनमा रहेको प्रधिकरणले जानकारी दिएको छ । पहिलो किस्ता ७ लाख १५ हजार ६ सय ७८ अर्थात ९० प्रतिशतले प्राप्त गरेका छन् ।

दोस्रो किस्ता प्राप्त गर्नेमा ४ लाख ९२ हजार ७ सय ३१ अर्थात् ६२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । भने तेस्रो किस्ता २ लाख ८९ हजार १ सय ९६ अर्थात् ३२ प्रतिशतले अनुदान प्राप्त गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । ५ लाख ५१ हजार घर निर्माणाधीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताएका छन् । उनले भने, ‘चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने छौँ ।’

भूकम्पपीडित परिवारलाई हालसम्म उपलब्ध हुन नसकेको तीन लाख रुपैयाँको सहुलियत ऋण सहज रूपमा उपलब्ध गराउनका लागि अर्थ मन्त्रालयबाट कायविधि परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको अधिकृत ज्ञवालीको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न आवश्यक थप करिब ६ खर्ब रुपैयाँ जरुरी रहेको बताए ।

पञ्चवर्षीय पुनर्निर्माण योजनाअन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको प्राधिकरणको भनाइ छ ।

७५ सय विद्यालयमध्ये ३८ सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने २७ सय निर्माणको क्रममा छन् । १२ सय स्वास्थ्य संस्था मध्ये ६ सय ५० को निर्माण पूरा भएको छ र १ सय ५० निर्माणाधिन छन् ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदाहरूमध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको भने ३ सय १० वटा निर्माणको क्रममा छन् ।

प्रतिक्रिया