नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुंगामा ७५ मिटर लामो सडक भासिएको छ ।

सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करिब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन ।

सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा ०६० सालमा ‘स्वायल रक एंकरिङ’ गरिएको थियो । एंकरिङले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ । सडक ६ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए ।

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा १ दशमलव ५ मिटर चौडा सडक भासिएको छ । ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो ।

पर्खालसमेत लच्किएर बसेको छ । माटो भरेका कारण पुनः तलबाटै बनाउनुपर्ने सुझाव प्राविधिकले दिएका छन् । तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बिमा हुने भएकाले काम सुरु भएको छैन । परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए । सडक निर्माणको कार्य हालै सम्पन्न भए पनि एक वर्षसम्म बिग्रे भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ ।

सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो । तीनवटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो । ती ठाउँ र भासिएका ठाउँमा एकतर्फी मात्रै सवारी गुडेका छन् ।

प्रतिक्रिया