नवनियुक्त एआइजीको पदस्थापन

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति गरेका तीन प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच महानिरीक्षक खनालले एआइजीमा पदोन्नति भएका पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । तीन जनालाई ५ असोजको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेको हो ।

दज्र्यानी चिह्न प्रदान गर्दै खनालले तीनै जनालाई आफ्नो ज्ञान, सीप, क्षमताको राम्ररी प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्न निर्देशन दिए । ‘पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको राम्ररी प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्नुहोला,’ महानिरीक्षक खनालको भनाइ थियो ।

पछिल्लो समय प्रहरीमा देखिएको अराजकतातर्फ संकेत गर्दै उनले नीति विपरीतको कार्यमा संलग्न भएको पाइएमा जोसुकै भए पनि कसुरका आधारमा कारबाहीको दायरामा ल्याइने चेतावनी दिए ।

कुनै पनि कर्मचारी कामको आधारमा मात्र नेतृत्वको नजिक हुने भएकाले राम्रो कामको लागि स्वागत गर्दै उनले भने, ‘नचाहिने काम आजैबाट सर्लक्क छाड्नुहोस् ।’ प्रहरी संगठनलाई निष्ठा र इमानदारी प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक खनालले प्रहरी संगठनलाई चाहेजस्तो उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको बताए ।

पछिल्लो समय प्रशासनिक कामले नयाँ उचाइ लिएको, लामो समय अबरुद्ध पदोनन्ति तथा सरुवा खुलाइएको, तालिम तथा युएन मिसनलाई प्राथमिकतामा राखिएको, साधनस्रोत सम्पन्न बनाउन विशेष योजना र पारदर्शीताका साथ काम थालिएको उनले बताए ।

गतिशील संगठनमा कहिलेकाहीँ असमाञ्जस्यता देखा परे पनि थप सुधारका साथ निरन्तर अगाडि बढनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले चुनौतीको सामना गर्दै दृढताका साथ काम गर्न निर्देशनसमेत दिए ।

एआइजी कार्कीले पदोन्नतिको यस क्षणमा राष्ट्र, संगठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको बताए । पदोन्नति व्यक्तिगतभन्दा संगठनको गतिशीलता र आवश्यकताका लागि भएकोले संगठनको हित र श्रीवृद्धिका लागि पूर्ण व्यावसायिक र थप जिम्मेवार भई दत्तचित्त भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईले मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतले प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेका छन् ।

प्रतिक्रिया