घुम्ती पुस्तकालय !

सल्यान । ग्रामीण भेगका विद्यालयमा पुस्तकको पहुँच नपुग्नु वा ढिलो पुस्तक पुग्नु नियतिजस्तै भएको छ । विद्यार्थीलाई पुस्तकबिनै पढाउने गरेका विद्यालय, त्यहीँमाथि सामुदायिक विद्यालय धेरै रहेका छन् । तर, सल्यानमा भने अहिले यसको गतिलो समाधान खोजिएको छ, मोबाइल पुस्तकालय।

जिल्लाका ४० विद्यालयले पुस्तक अभाव टार्नका लागि घुम्ती पुस्तकालय स्थापना गरेका हुन्। कक्षाकोठामा पढाउन सजिलो र विद्यार्थीको पुस्तकमा सहज पहुँचका लागि घुम्ती पुस्तकालयको स्थापना गरिएको हो। जिल्लाको उत्तरी क्षेत्र दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका ४० विद्यालयमा यस्तो पुस्तकालय स्थापना गरिएको छ।

विद्यार्थीको पुहँचमा पुस्तक सजिलै लैजान सकिने र कम खर्चिलो भएकोले यो पुस्तकालय उपयोगी र सजिलो देखिएको महेन्द्र माध्यमिक विद्यालय जिमालीका शिक्षक हेमराज केसीले बताए । ‘यो पुस्तकालय बिहान शिक्षकले कक्षामा लैजान र बेलुका कार्यालयमा फिर्ता ल्याउन सक्छन्।

केसीले भने, ‘भौतिक संरचना बलिया नभएका र सुरक्षाको दृष्टिकोणले कमजोर विद्यालयमा यो बढी उपयोगी छ ।’ केसीले पुस्तकालयका कारण आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षण गर्न सहज भएको प्रतिक्रिया दिए ।

‘झ्याल ढोका नभएका र कक्षाकोठा नै नभएका हाम्रो ठाउँका जस्ता विद्यालयका लागि यो अति नै उपयोगी छ’, उनले भने।सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको एकीकृत परियोजनाले दार्मा र कुमाख गाउँपालिकाको शिक्षा शाखासँग समन्वय गरी ४० विद्यालयका बाल विकासदेखि कक्षा ४ सम्म घुम्ती पुस्तकालय स्थापनामा सहयोग गरेको छ ।

कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख स्रोत व्यक्ति तुल्सी शर्माले मोबाइल पुस्तकालयले विद्यार्थीहरूको पठन सीपको विकासमा सहयोग गर्ने बताए। ‘यो तरिका प्रयोग गर्न पनि सजिलो छ’, शर्माले भने, ‘शिक्षकले चाहेअनुसार यो पुस्तकालयलाई सजिलै प्रयोग गर्न र सुरक्षित तरिकाले राख्न सक्छन् ।’

संस्थाले ४० बाल विकास, कक्षा १ देखि ४ मा राख्ने गरी १ सय ७५ वटा मोबाइल लाइब्रेरी ब्याग वितरण गरेको हो। ब्यागभित्रै पुस्तक राखेर फोल्डिङ गरी राख्न सकिन्छ भने कक्षाकोठामा जाँदा ब्याग खोलेर भित्तामा ठूलो बनाई झुन्ड्याउन सकिन्छ। ४० विद्यालयका घुम्ती पुस्तकालयमा कक्षागत आधारमा पुस्तकहरू राखिएका छन् ।

जसअनुसार बाल विकास केन्द्रको पुस्तकालयमा ३४, कक्षा १ को पुस्तकालयमा ७१, कक्षा २ को पुस्तकालयमा ३५, कक्षा ३ को पुस्तकालयमा ४१ र कक्षा ४ को पुस्तकालयमा ४४ थरीका पुस्तक राखिएको छ।

ग्रामीण क्षेत्रका विद्यार्थीहरू विभिन्न प्रकारका पुस्तक पढ्ने सुविधाबाट वञ्चित हुने भएकाले यस्तो खालका पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख स्रोत व्यक्ति जंगबहादुर बुढाले बताए ।

बालबालिकाले जति धेरै पुस्तक पढ्न पाए उनीहरूको पढ्ने रुचि उति धेरै बढ्छ बुढाले भने यसले सिकाइ उपलब्धि सुधारका लागि उल्लेखनीय भूमिका खेल्छ ।
सेभ द चिल्ड्रेनकी परियोजना संयोजक विमला सुवेदीले ४० विद्यालयमा पुस्तकालयका लागि बालविकास केन्द्र र कक्षा ४ सम्म प्रत्येक कक्षाका लागि मोबाइल लाइब्रेरी ब्यागका लागि साढे ४ लाख र त्यसमा राख्नका लागि २ लाख बराबरका पुस्तकहरू सहयोग गरिएको बताइन्। पढ्ने अवसरबाट वञ्चित बालबालिकाहरूलाई सजिलो होस् भनेर सहयोग गरिएको उनले बताइन् ।

प्रतिक्रिया