विश्व कीर्तिमानी लेखक सृजन सम्मानित

काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डस् राख्न सफल सृजन तिमिल्सिनालाई प्यारागन पब्लिक स्कुलले सम्मान गरेको छ । उनले सबैभन्दा लामो शीर्षकको पुस्तक लेखेर विश्व कीर्तिमान राखेका छन् ।

शुक्रबार तिलगंगास्थित प्यारागन पब्लिक स्कुलकी प्रिन्सिपल विना बानु, निर्देशक साकिर उद्दिन, सहायक प्रिन्सिपल मनोज विके र टिभी कार्यक्रम प्रस्तोता एवं नायक सुरजसिंह ठकुरीलगायतले तिमिल्सिनालाई सम्मान गरे ।

उनले मस्तिकको विकास क्रमका विषयमा लेखेको जानकारी दिए । उनको पुस्तकको शीर्षक ११ हजार २ सय ८४ क्यारेक्टर र १ हजार ८ सय ९ शब्दको छ । काठमाडौंको गोकर्णेश्वर स्थायी घर भएका तिमिल्सिनाले १२ वर्षकै उमेरबाट गिनिज बुकमा नाम लेखाउने प्रयास थालेका थिए ।

उनले भने ‘३ सेप्टेम्बर २०१० मा ३ विधामा रेकर्ड लेखाउन आवेदन दिए । तर, ३ वटै विधामा अस्विकृत भयो । तर, हार मानिन् । फेरी, ४ अक्टुबर २०१० मा प्रयास गरे । यसपटक लामो शीर्षकको पुस्तकका लागि उनको आवेदन स्विकृत भयो । त्यसको ८ वर्षपछि गत १४ जुन उनले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट आधिकारिता पाए ।

सम्मानित भएपछि बोल्दै तिमिल्सिनाले स्कुले जीवनमा छँदा नै कीर्तिमान बनाउने प्रेरणा मिलेको बताए । कक्षा ८ मा यही स्कुलमा पढ्दै गर्दा यस्तो कीर्तिमान बनाउने प्रयास गरेको थिएँ । आज एमबिबिएस तेस्रो वर्षमा पुग्दासम्म सपना साकार भएको छ, उनले भने ।

प्रिन्सिपल बिना बानुले सृजनको कीर्तिमानले आफूलाई निकै खुसी मिलेको बताइन् । उनले हरेक विद्यार्थीले समाजमा उदाहरणीय काम गर्नुपर्ने बताइन् । आज मलाई शिक्षण पेशामा लाग्दा गर्व र खुसी महसुस भएको छ ।

यसका लागि म सृजनलाई धेरै धेरै धन्यवाद दिन्छु, उनले भनिन् । कार्यक्रम नायक ठकुरीले सृजन जस्तै सबैले आ–आफ्नो विधामा केही गर्न सके मात्र जीवनको सही मूल्याकंन गर्न सकिने बताए ।

प्रतिक्रिया