गोदावरीको डिपीआर निर्माण

धनगढी । गोदावरी नगरपालिका क्षेत्रभित्रको विकास निर्माण कार्यलाई तीव्रता दिन विभिन्न योजनालाई प्राथमिकतामा राखेर काम गरिने भएको छ । गोदावरी नगरपालिकाको बिहीबार नगरपालिका कार्यपालिकाको ३१औँ बैठकले गोदावरी नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण योजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी विकास निर्माणको कार्यलाई प्राथमीकरण गरेको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका तीनवटा सडकपुलको यसअघि डिपिआर भइसकेकोले सो कार्यलाई अघि बढाउने, गोदावरी नगरपालिका–१२ गौडी खोला र ४ स्थित कालीनालामा झोलुंगे पुल निर्माण गरिने, हरैया–लालपुर खोलामा मोटरेवल सडकपुलको डिपिआर तयार गरिने लगायतका महत्वपूर्ण कुरा बैठकमा भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए ।

यसैगरी, गोदावरी नगरपालिका–११ को चाक्ले खोलाको डिपिआर बनाउने, गड्थोपे खोला रामजानकी श्रीपुर जोड्ने पुलको अध्ययन गरी काम अघि बढाइने, सिँचाइ, खानेपानी, झोलुंगे पुल, मोटरेवल पुल आवश्यक पर्ने ठाउँको अध्ययन गर्ने बैठकमा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

राजस्व सम्बन्धमा एकीकृत कर बढी भयो भनेर जनगुनासो छ त्यस सम्बन्धमा करका विज्ञ बोलाएर नागरिक अन्तरक्रिया गरी एकीकृत करबारे नागरिकलाई जानकारी गराइने, स्वास्थ्य ऐन, फोहोरमैला व्यवस्थासम्बन्धी ऐन र न्याय सम्पादन कार्यविधि विधेयकको ड्राफ्ट तयार गरी अध्ययनको काम भइरहेको उनले बताए ।

विधेयक समितिले वडाध्यक्षसँग अन्तरक्रिया गरी सुझाव संकलन गर्ने, भवन निर्माणसम्बन्धी मापदण्ड र आन्तरिक कार्यविधिसम्बन्धी तत्कालै बैठक बसाउने तयारी गरिएको छ । नगरपालिकाले अत्तरिया बजारमा खाद्यवस्तु र निर्माण सामग्रीको गुणस्तर जाँच गरिने, औद्योगिक क्षेत्रका बारेमा अध्ययन भइरहेको जनाइएको छ ।

त्यसैगरी, अघिल्लो बैठकले गोदावरी क्षेत्र विकास समिति गठन गरी कोष खडा गर्ने निर्णय गरेको थियो । गोदावरी धार्मिक क्षेत्र भएकोले त्यसको सरसफाइमा ध्यान दिइने, मसानघाटको पारिपट्टि पिकनिकस्थल बनाउने तयारी नगरपालिकाले गरेको नगरप्रमुख हरिसिंह साउदले बताए । उनले गोदावरी नगरपालिकाको बृहत्तर विकासमा आफूहरूले विभिन्न योजना बनाई अघि बढेको सुनाए ।

प्रतिक्रिया