सेपाकताक्रो टोली अाज थाइल्यान्ड जाँदै


काठमाडौं । नेपाली सेपाकताक्रो टोली ३३औँ किंगस कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाने भएको छ । २३ देखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगितामा नेपाली पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वार्ड स्पर्धामा सहभागिता जनाउने छन् ।

पुरुषमा रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् ।

टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् । प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसँगै थाइल्यान्ड जाँदैछन् ।

किंगस कपमा नेपालले २९औँ संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसयता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिँदै आएको छ । ०७२ को भूकम्पका कारण नेपालले ३१औँ संस्करणमा सहभागिता जनाएन ।

सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९औँ संस्करणमा नेपालले पुरुष रेगु, ३०औँ मा पुरुष रेगु र डबल्स तथा ३२औँ मा महिला रेगुमा कांस्य पदक जितेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिँदै सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार त्रिपुरेश्वरमा बिदाइ गरे ।

प्रतिक्रिया