पप्पुलाई पुनः पुल बनाउन निर्देशन

अध्ययन टोलीले डिजाइन गलत नभई पप्पु कन्स्ट्रक्सनको लापरबाही रहेको प्रतिवेदन बुझाएपछि पत्र काटेका हौँ: अर्जुनजंग थापा, पुल महाशाखा प्रमुख
पुल निर्माण हुँदाहुँदै बाढी आएर रुख पुलमा आएर अड्कियो । हामीले रुख सफा गर्न भन्दा कसैले सहयोग गरेनन्, त्यही रुखले खोस्रिँदै जाँदा पुल भत्किएको हो : सुमित रौनियार, प्रबन्ध–निर्देशक, पप्पु कन्स्ट्रक्सन

काठमाडौं । सडक विभागले बर्दियाको जब्दीघाटमा बबई नदीमा निर्मित पुल भासिएपछि निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई पुनः निर्माण गर्न पत्र पठाएको छ । पुल निर्माण नसक्दै बीचमा रहेका पिलर भासिएका छन्, जसका कारण पुल काम नलाग्ने अवस्थामा पुगेको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजले गरेको अनुसन्धानमा निर्माण कम्पनीकै लापरबाही फेला परेपछि विभागले पुनर्निर्माणका लागि पत्र काटेको हो ।

विभागका अनुसार पुलको एउटा भाग पूरै भासिएको र सबैजसो पिलरहरूले जमिन छाडेकाले भत्काएरै नयाँ बनाउनुपर्ने देखिएको छ । विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले पुल निर्माणको दायित्व पप्पुकै रहेको बताएका छन् । ‘प्रतिवेदनपछि पुल पुनर्निर्माणको पत्र पप्पु कन्स्ट्रक्सनलाई पठाइएको छ,’ उनले अगाडि भने, ‘पुल पुनर्निर्माणको दायित्व पप्पुकै हो ।’

४ सय २५ मिटर लामो जब्दीघाट पुल १६ करोड ६८ लाख ४ सय ४ हजार रुपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको थियो । पुल भासिएपछि सडक विभागअन्तर्गत पुल महाशाखाले स्वतन्त्र विज्ञ राखेर अध्ययन टोली बनाएको थियो ।

अध्ययन टोलीले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘पुल निर्माणमा कन्स्ट्रक्सन कम्पनीको गम्भीर लापरबाही देखियो । यो पुल बनाउने कन्स्ट्रक्सन कम्पनी पप्पुले डिजाइनअनुसार निर्माण नगरेकाले भासिएको हो ।’ जमिनमुनि १६ मिटर तलसम्म पाइल राख्नुपर्नेमा पाँच मिटरभन्दा तल राखेको नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।

‘१६ वटा पाइलहरू राख्ने गरी डिजाइन बनाइएको छ । डिजाइनअनुसार १६ मिटर तलसम्म गाड्नुपर्नेमा पाँच मिटरसम्म मात्रै राखेको भेटिएको छ,’ प्रतिवेदनमा भनिएको छ । अध्ययन टोलीले पिलर ड्रिल गरेर हेर्दा साढे पाँच मिटरभन्दा तल कंक्रिट नै नभेटिएको जनाएको छ ।

‘१६ मिटरसम्मै छड राखेको भए पनि कुनै पनि पाइलमा ५ दशमलव ५ मिटरभन्दा तल कंक्रिट नभेटिएको अध्ययनले देखाएको छ । त्यहाँभन्दा तल कंक्रिट हुनुपर्ने ठाउँमा माटो भेटिएको छ,’ प्रतिवेदनमा भनिएको छ । अधिकांश पाइलको ठाउँठाउँमा पाँच मिटर कंक्रिटपछि माटो भेटिएको प्रतिवेदन उल्लेख छ ।

बबई नदीमा बाढी आउँदा जमिनमाथि रहेका पिलरहरूमा कुनै समस्या नभएको भए पनि जग गतिलो नभएका कारण पुल भासिएको प्रतिवेदनमा ठहर गरिएको छ । निर्माणको जिम्मा लिएको पप्पुले डिजाइन गलत भएका कारण पुल भासिएको आरोप लगाउँदै आएको छ । तर, प्रतिवेदनमा डिजाइनमा कुनै खराबी नरहेको उल्लेख छ ।

प्रतिवेदनमा पुल पुनर्निर्माण वा रेट्रोफिट गर्न सुझाब दिइएको छ । यता, पप्पु कन्स्ट्रक्सनले भने डिजाइनमै खराबी रहेको दाबी गर्दै आएको छ । साथै, प्रतिवेदन पनि काल्पनिक भएको टिप्पणी गरेको छ । सो कम्पनीका प्रबन्ध–निर्देशक सुमित रौनियारले पुल भासिनुमा गुणस्तर र अन्य कमजोरी नभई डिजाइनमै गल्ती रहेको दाबी गरे ।

‘सडक विभाग र पुल्चोक क्याम्पस सरकारी निकाय हुन् तर न्यायिक निकाय होइनन् । चेकजाँच गर्दा कम्पनीको रोहबर राखिएको छैन । आफ्नो गल्ती लुकाउन सबै किर्ते गरिएको हो,’ उनको भनाइ छ । पप्पुले पुलमा खराबी नभई पुल निर्माण भइरहेका वेला बाढी आएको र त्यसमा ठूला रुख अड्किएकाले पुल भत्किएको दाबी गरेको छ ।

‘पुल निर्माण हुँदाहुँदै बाढी आएर रुख पुलमा आएर अड्कियो । हामीले रुख सफा गर्न भन्दा कसैले सहयोग गरेनन्, त्यही रुखले खोस्रिँदै जाँदा पुल भत्किएको हो,’ प्रबन्ध–निर्देशक रौनियारको दाबी छ ।

यता, सडक विभागले भने कम्पनीले पुल पुनर्निर्माण नगरे बैंक ग्यारेन्टी जफत गर्नेसम्मको चेतावनी दिएको छ । देशभर पप्पुले पाएका निर्माणका ठेक्कामा निकै लापरबाही हुने गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया