रुस र चीनको सामना गर्न अमेरिकालाई हम्मे


वासिंगटन । अमेरिकी वायु सेनाले चीन र रुसभन्दा अगाडि रहन आफूहरूले बम्बर, लडाकू विमान, ट्यांकर लगायतका हतियार वृद्धि गराउनुपर्ने र ४० हजार दक्ष सेना पनि थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार सन् २०२५ देखि ३० बीचको समयमा अमेरिकाले कुनै पनि समय यी दुई देशको सामना गर्नुपर्ने सम्भावना अधिक रहेको देखिएपछि सो लडाइ जित्न अहिले देखि नै तायरी गर्नुपर्ने वायु सेना संघले बताएको हो ।

यसमा आगामी १२ वर्षसम्म वायुसेनामा २५ प्रतिशत हतियार थप गरिनुपर्ने माग राखिएको छ । हालको प्रशासनले दिइरहेको निर्देशन अनुरूप काम गर्दा अमेरिकी सेना तुलनात्मक रूपमा ज्यादै सानो भएको सेनाकी प्रमुख सचिव हेदर विल्सनले बताएकी हुन् ।

अहिले अमेरिकी हवाई सेनासँग केबल ३१२ अपरेसनल स्क्वाड्रन समूह रहेकामा त्यसलाई २०३० सम्म बढाएर ३ सय ८६ पुर्याउनुपर्ने विश्लेषकहरूको सुझाव रहेकाले पनि यस्तो माग अघि सारिएको बताइएको छ । चीन र रुससँगको सम्भावित युद्धलाई ध्यानमा राख्दै देशको सुरक्षाका निम्त उचित निर्णय लिन जरुरी रहेको विल्सनको भनाइ छ ।

उनका अनुसार अमेरिकाले वास्तविकता स्वीकार गर्दै सेनाको अवस्थाबारे इमान्दार रहँदै काम गर्नुपर्छ । विशेषगरी, चिनियाँ शक्ति सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै उनले भनिन्, ‘पछिल्लो समय चीनले अमेरिकासम्म पुग्ने लामो रेन्जको मिसाइल र विमानवाहक लन्च गरेको छ ।

उता साउथ चाइना सीमा कृत्रिम टापुको निर्माणमार्फत सैन्य क्षमता पनि बढाइरहेको छ । यता रुसले पनि हालै मात्र चार दशककै ठूलो सैन्य अभ्यास सम्पन्न गरिसकेको छ जसमा ३ लाख सेना समावेश गराइयो ।’ यसकारण पनि अमेरिकाले आफ्नो प्रदर्शनमा सुधार ल्याउन जरुरी रहेको उनले बताइन् ।

यसका लागि एक खर्ब डलरभन्दा बढी खर्च लाग्ने बताइएको छ । आफूहरू विश्वको सबैभन्दा उत्कृष्ट सेना भए पनि केही वर्ष यतादेखि अरू देशहरूले पनि अमेरिकाजस्तै रणनीति अपनाई आफ्नो देशका लाभदायी पक्षहरू कम गराएको वायु संघको भनाइ छ । यसमा मिसाइलको संख्यामा वृद्धि नगराए पनि त्यसको आधुनिकीकरणमा भने जोड दिइनुपर्ने बताइएको हो ।

प्रतिक्रिया