बर्दिया निकुञ्जमा थप प्रवेश प्रवेशद्वार खुला

बर्दिया । पश्चिम तराईको पर्यटकको महत्वपूर्ण गन्तव्यको रूपमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जमा थप चार ओटा प्रवेशद्वार खुला गरिएको छ । लामो समयदेखि थप प्रवेशद्वारको माग भएको निकुञ्जमा प्रवेशद्वार खुलेसँगै चार ठाउँ पर्यटकीय क्षेत्रको रूपमा विकास हुने भएको हो ।

जिल्लाका विभिन्न स्थानीय तह तथा पर्यटन व्यवसायीहरूको माग भएकोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बर्दिया राष्ट्रिय निकुञ्जको बञ्जरिया रेन्जपोस्ट, अम्रेनी पोस्ट, रम्भापुर सेक्टर र चेपाङ रेन्जपोस्टबाट नयाँ प्रवेशद्वार खोल्ने निर्णय गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वाराले स्थानीय तह र पर्यटन व्यवसायीको मागअनुसार पर्यटक प्रवेशका लागि नयाँ प्रवेशद्वार खोल्न विभागमा लेखिपठाएको थियोे र सोहीबमोजिम विभागले निर्णय गरी पत्र पठाएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।

असोजको दोस्रो सातादेखि नयाँ प्रवेशद्वारबाट पर्यटक भित्र्याउने गरी काम गरी स्थानीय निकायसँग समन्वय कर्मचारी व्यवस्थापन, टिकट काउन्टरको निर्माण र गेट निर्माण कार्य सुरु गर्ने निकुञ्जले जनाएको छ । नयाँ प्रवेशद्वार खुलेको क्षेत्रमा पर्यटक, नेचर गाइड, राजस्वको सुरक्षा लगायतका व्यवस्था मिलाउन विभागले पत्राचार गरेको छ ।

आव ०७४÷७५ मा २० हजार २ सय ७४ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव ०७३÷७४ मा निकुञ्जमा १७ हजार ९ सय ५९ पर्यटक भित्रिएका थिए । नयाँ प्रवेशद्वार खुलेपछि पर्यटकको संख्या दोब्बर हुने नेचरगाइड रामबहादुर शाहीले बताए । उनले बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको संख्या बढ्न सक्ने बताए ।

बर्दिया निकुञ्जमा बर्सेनि ६ हजारजति विदेशी र करिब १४ हजार नेपाली पर्यटकले निकुञ्ज भ्रमण गर्ने गरेकोमा नयाँ प्रवेशद्वारले पर्यटकको संख्या दोब्बर हुनुका साथै मध्यवर्ती क्षेत्रमा होटलहरू विकास तथा विस्तार भई थप रोजगारी सिर्जना हुने, राजस्व वृद्धि हुने पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए । उनले नाका धेरै अगाडि नै खोलिनुपर्नेमा धेरै ढिला भएको बताए ।

नेपालमा बाघ पाइने दोस्रो ठूलो निकुञ्जको रूपमा प्रख्यात बर्दिया निकुञ्जभित्र विश्वमै दुर्लभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गरेको निकुञ्जको भनाइ छ ।

०३२ साल स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जमा ०५३ सालमा मध्यवर्ती क्षेत्र स्थापना गरिएको थियो । यो निकुञ्जको क्षेत्रफल ९ सय ६८ वर्ग किमि र मध्यवर्तीको क्षेत्रफल ५ सय ७ वर्ग किमी छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्जपछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने ०४५ मंसिर २० मा बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागसमेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने यस निकुञ्जमा जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँका मुख्य आकर्षण हुन् ।

सुरक्षा चुनौती बढ्ने
नयाँ प्रवेशद्वार बढेसँगै सुरक्षा चुनौती बढ्न सक्ने सम्भावना देखिएको छ । निकुञ्जका विभिन्न ठाउँबाट पर्यटकहरू प्रवेश गर्ने भएपछि चारैतिर सुरक्षा व्यवस्था कडा गर्नुपर्ने निकुञ्जले जनाएको छ ।

पर्यटक व्यवसायी कृष्णप्रसाद भट्टराईले धेरै नाका हुँदा चोरीसिकारी हुने खतरा पनि बढ्न सक्ने बताउँछन् । उनले निकुञ्जले यसको चोरीशिकारी नियन्त्रण र निकुञ्ज सुरक्षाका लागि थप रणनीति बढाएर अगाडि बढ्नुपर्ने बताए ।

चारैतिरबाट पर्यटक प्रवेश गर्ने भएपछि सुरक्षा चुनौती पनि बढ्ने निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनले भने, ‘सबै पर्यटकहरू सही मानसिकताका हुन्छन् भन्ने छैन, सुरक्षा व्यवस्था पनि त्यही अनुसारको कडा बनाउनु पर्दछ ।’ सुरक्षा सँगसँगै समयमा राजस्व दाखिला, आवश्यक परेमा पर्यटकको प्राथमिक उपचारको व्यवस्था गर्न पनि समस्या पर्नसक्ने बताए ।

प्रतिक्रिया