पोखरा–बागलुङ सडक दैनिक ७ घण्टा बन्द

पर्वत । पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गको सडक खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा २० असोजसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालिएको छ ।

सडक स्तरोन्नतिका लागि पर्वतको सिमानामा पर्ने अँधेरीखोलादेखि खरेहा गेटसम्म १ देखि २० असोजसम्म दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । यो खण्डमा पर्ने बेतनीदेखि डिमुवा बीचको माहुरी भिर र दोबिल्लादेखि चुवासम्मको चुवा भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ ।

सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राती ८ बजेसम्म २ घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

२० असोजदेखि दसैँ सुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए ।

भुसालका अनुसार सडक खुल्ला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन गरिएको जानाकारी गराए । ५ असोजदेखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका वेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाई समेत हटाएर सडक फराकिलो बनाउने काम भएको प्रोजेक्ट म्यानेजर भुसालले बताए ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत–सम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्ने जनाइएको छ ।

०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७ सय ६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ ।

अहिलेसम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुसालले जानकारी दिए । अहिले सबै ठाउँबाट काम सुरु गरिएको र दसँै तिहारपछि कामलाई अझै तीव्र बनाउने निर्माण कम्पनीले जनाएको छ

प्रतिक्रिया