पशुपति क्षेत्रको पुनर्निर्माणमा प्राधिकरणले सहयोग

काठमाडौं । पशुपति क्षेत्रको पुनर्निर्माण र बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । बुधबार पशुपति विकास कोषसँग छलफल गर्दै प्राधिकरणले पुरातत्वविद्, इन्जिनियरिङ, जनशक्ति लगायतमा सहयोग गर्ने बताएको हो ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालसहितको टोलीसँग छलफल गरेका थिए ।

भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणमा क्षति ग्रस्त संरचनाहरूको पुनर्निर्माणलाई छिटो गर्न आग्रह गरेका थिए । गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने प्राविधिक र आवश्यक परे आर्थिक सहयोगसमेत गर्ने प्राधिकरणले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुनर्निर्माण गर्नुपर्ने संरचना र प्रबलीकरण गर्नुपर्ने संरचनाहरूको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिएका छन् । उनले धार्मिक र पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

पुनर्निर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरूको संरक्षण कार्यलाई एकसाथ अगाडि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गरेका थिए ।

‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेटसमेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्नसमेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’ ,सदस्य सचिव डा. ढकालको भनाइ थियो ।

गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका अनुसार श्लेषमान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्रका जमिन भासिएकाले सो क्षेत्रमा भू–संरक्षण गर्नुपर्ने र मन्दिरहरूको जीर्णोद्वार र संरक्षण गर्न आवश्यक छ ।

यस्तै, सत्तल बने पनि विश्वरूपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरू, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुह्येश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरूको पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

सदस्य सचिव डा. ढकालले भने, ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफैँ बनाउने निर्णय गरेका छौँ ।’ उनले थपे ‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन ।’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दार्शनिक पक्ष र पशुपतिनाथको पौराणिकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिएका छन् । ‘गुरुयोजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरूको सेवा र सुविधा क्षेत्र, गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी बनाउनु उपयुक्त हुने ज्ञवालीको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार ०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन सकेन भने ०५६ सालको योजना पनि अपेक्षा गरेअनुसार अघि बढन सकेन । हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्घकालीन विकास योजना नहुँदा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर क्षेत्रको मन्दिरहरूको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन ।

सदस्य सचिव डा.ढकालले गुरु योजना बनाउने प्रक्रिया सुरु गरेको भन्दै सबै पक्षको सहयोग र सुझावमा अन्तिम रूप दिने बताए । उनले नेपाल सरकार अन्तर्गतका नापी विभाग, वातावरण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतसँगको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालादेखि जयवागेश्वरी, जयवागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया