राजधानीमा अझै शौचालय अभाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब दई वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने योजना अगाडि सारे पनि अझै निर्माण हुन सकेको छैन । हालसम्म पनि कसले र कस्तो शैलीमा निर्माण गर्ने भन्ने निष्कर्षमा पुग्न नसकेकाले निर्माण कार्यमा ढिलाइ भएको कामपाले जनाएको छ ।

‘पैसा, र शक्ति नभएर रोकिएको होइन मात्र कसले बनाउने र कसरी बनाउने भन्ने टुंगो लाग्न नसकेकाले रोकिएको हो’ काठमाडांै महानगरपालिकाका सहप्रवक्ता नवराज ढकाल भन्छन् ‘उपत्यकामा बन्ने सार्वजनिक शौचालय अल्पकालीन योजनाअनुसार अगाडि बढेको थियो । यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने दबाब आएसँगै रोकिएको हो ।’

निजी कम्पनी नाफामुखी हुन्छन् । अरू कम्पनीलाई जिम्मा दिँदा आफूलाई नाफा हेर्ने भएकाले गुुणस्तरहीन हुन सक्छ । त्यसैले, जसले निर्माण गर्ने हो सो कम्पनीको नामसमेत उल्लेख गर्ने ढकालको भनाइ छ ।

काठमाडौंमा सार्वजनिक शौचालयको अभाव भएको भन्दै मुख्य ठाउँहरू कालिमाटीचोक, कलंकीचोक, बल्खुचोक, टेकुस्थित नेसनल ट्रेडिङ अगाडि, त्रिपुरेश्वर प्रतिक्षालयसँगै, सीतापाइला, स्वयम्भू, भगवानपथ, वनस्थली ढुंगेधारा, वनस्थलीचोक, माछापोखरी, बालाजुचोक, गोंगबुचोक, गोंगबु शिव मन्दिर छेउ, बसपार्कबाहिर, सामाखुसीचोक, प्रहरी चौकी, वसन्धुराचोकमा महानगरले सार्वजनिक शौचालय बनाउने योजना बनाएको थियो ।

चावहिलचोक, पासाङ ल्हामुमार्ग चुच्चेपाटी, गौशालाचोक, एयरपोर्ट मूलगेटबाहिर चक्रपथ, कोटेश्वरचोक, वसन्तपुर, जमलआसपास, सोह्रखुट्टेचोक, लैनचौरचोक, खानी तथा भू–गर्भ विभागअगाडि, बागबजार, नागपोखरीस्थित नारायणचौर, कमलपोखरीचोक, बालुवाटारचोक, टिचिङ अस्पताल र कान्ति अस्पतालको बीच भागमा, अनामनगर क्षेत्र, भत्केको पुल र बालाजुस्थित बाइपासबाट त्रिशूली जाने बाटोछेउ गरी ४८ वटा शौचालय बनाउने योजना अगाडि बढाएको थियो ।

हाल महानगरले विभिन्न स्थानमा ४५ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको छ । पहिलो चरणमा ४८ र त्यसपछि दोस्रो चरणमा थप १ सय २ ओटा बनाउने तयारी भइरहेको महानगरले जानकारी दिएको छ ।

अत्याधुनिक प्रविधिको बन्ने भएकाले एउटा बनाउन पाँच लाखसम्म लाग्न सक्ने अनुमान महानगरले गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने खालको अत्याधुनिक शौचालय रोटोमोडिंग प्रविधिबाट निर्माण हुने भएकाले यो धेरै टिकाउ तथा मजबुत बनाउनुपर्ने ढकालको भनाइ छ ।

१ सय १० केजीको तौल हुने यसको सिटको उचाइ ४ सय ५० मिमि रहेको छ । यसैमा जडित पानी ट्यांकीको क्षमता १ सय ६० लिटर रहेको छ भने यसको दिसापिसाब राख्ने ट्यांकीको क्षमता २ सय ९० लिटर रहेको छ ।

यसमा सौर्य ऊर्जाबाट चल्ने तथा भेन्टिलेसन फ्यानहरू जडान गरिएको छ । पुरुषहरूका लागि युरिनल पनि जडान गरिएको छ । हात धुने बेसिन, ट्वाइलेट पेपर, ऐना आदि पनि जडित हुनेछ ।

प्रतिक्रिया