सभापतिका लागि मनोनयन आज

काठमाडौं । लामो समयदेखि शीर्ष नेताबीच सहमति नहुँदा अड्किएको संघीय संसद्को सचिवालयले प्रतिनिधिसभाअन्तर्गत रहने १० विषयगत समितिहरूको सभापति निर्वाचनको लागि बिहीबार उम्मेदवारको मनोनयन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुभाष नेम्बाङबीच सभापतिमा भागबन्डा गरेपछि बुधबार निर्वाचन कार्यतालिका प्रकाशित भएको हो । यसअघि तीनपटक ५, १३ र १७ भदौका सभापतिको निर्वाचनको मिति तोकिए पनि भागबण्डामा कुरा नमिल्दा सारिँदै आएको थियो ।

संघीय संसद्को सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार बिहीबार ११ बजेदेखि ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तीमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनुपर्ने छ ।

यसरी, सबै १२ वटा समितिमा दर्ता हुन आएको प्रस्ताव दर्ता समयअनुसार मिलाई बिहीबार बेलुका उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता हुन आएको प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ ।

निर्वाचनमा एकभन्दा बढी उम्मेदवार भए सबभन्दा बढी मत ल्याउने विजय हुनेछन् । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्विरोध घोषणा गरिने व्यवस्था नियमावलीमा छ ।

बिहीबार गरिने मनोनयनमा प्रायः एक जनाले मात्र मनोनयन गर्ने सम्भावना रहेको छ । र यसरी एक जनाले मनोनयन गरे बिहीबार नै सभापति चयन हुने र शुक्रबार बस्ने समितिले त्यसको औपचारिक घोषणा हुनेछ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरू राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।

नेकपा स्रोतका अनुसार ९ मा समितिमा सत्तापक्षको नेकपा, नेपाली कांग्रेसलाई सार्वजनिक लेखासमिति र अर्को दुई समितिमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई दिइने सहमति भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अनुगमन विशेष समितिको सभापतिमा निरा जैरु, महिला समितिमा निरु पाल, अर्थ समितिमा कृष्णप्रसाद दाहाल सभापति हुने टुंगो लागेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय समितिमा पवित्रा निरौला, कानुन समितिमा कृष्णभक्त पोखरेल, कृषि समितिमा पूर्णकुमारी सुवेदी, राज्यव्यवस्था समितिमा शशी श्रेष्ठ, विकास समितिमा कल्याणी खडका सभापति हुने टुंगो लागेको स्रोतको भनाइ छ ।

यसैगरी, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण र उद्योग समितिमा विमल श्रीवास्तव सभापति हुने तय भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागमा परेको सार्वजनिक लेखासमितिको नेतृत्व भने अझै टुंगो लागेको छैन ।

लेखा समितिमा कांग्रेसले सार्वजनिक लेखा समितिमा भरत शाह र मीनेन्द्र रिजालमध्ये एक जना पठाउने चर्चा रहेको छ । लामो समयसम्म सभापति चयन नहुँदा समितिको बैठक ज्येष्ठ सदस्यबाट हुँदै आएको छ । यसअघि राष्ट्रिय सभाका चार समितिको निर्वाचन भइसकेको छ । समितिको सभापतिमा धेरैजसो महिला सांसदलाई बनाइँदै छ ।

प्रतिक्रिया