चरिकोट बजारमा सिसी टिभी

दोलखा । यस जिल्लाको पर्यटकीय नगरी चरिकोट बजारमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । विभिन्न आपराधिक क्रियाकलापमा कमी ल्याउन तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै भीमेश्वर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिने भएको हो ।

चरिकोट बजार क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी ल्याउन सिसिटिभी क्यामेराले मद्धत पु¥याउने भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । सिसिटिभी क्यामेराले अपराध नियन्त्रण र अपराधीलाई सजाय दिन सघाउ पुग्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठक बताउँछन् ।

चरिकोट बजारको विभिन्न स्थानमा ४० वटा सिसी टिभी क्यामेरा जडान गर्ने र सिसिटिभी क्यामेरा जडानका लागि २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए ।

उक्त कार्यलाई अघि बढाउन दोेलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि गरिएको छ ।

समितिको सदस्यहरूमा दोलखाका प्रहरी निरीक्षक प्रमोद कार्की, वित्तीय क्षेत्रबाट जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत, कम्प्युटर एसोसिएसन नेपालको तर्पmबाट अध्यक्ष विमल श्रेष्ठ रहेका छन् ।

समितिले १० दिनभित्र सिसी क्यामेरा राख्नैपर्ने स्थान, उक्त कार्यका लागि सहकार्य गर्न सकिने सरोकारवाला, सिसी क्यामराको गुणस्तर लगायतका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । उक्त प्रतिवेदनको आधारमा सदरमुकाम चरिकोटका विभिन्न स्थानमा सिसी टिभी क्यामरा जडान कार्य अघि बढ्नेछ । उक्त कार्य भीमेश्वर नगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा गर्ने तयारी भएको छ ।

प्रतिक्रिया