सीमाक्षेत्रमा खुलेआम मदिरा बिक्री

वीरगञ्ज । बिहारमा प्रतिबन्धित भएपछि मदिरा सेवन गर्न सीमावर्ती इलाकामा रहेका भारतीयहरू नेपालीबजार आउनेको संख्या बढ्दो छ । सीमा क्षेत्रका बजारमा मदिरा पसल र होटल खुल्ने क्रम पनि बढेको छ ।

भारतीयको बाक्लो उपस्थित हुने सीमा क्षेत्रका मदिरा बेच्ने होटलमा जघन्य अपराधका अभियुक्त र गुन्डागर्दीमा संलग्नहरू पनि आउने गरेको स्थानीयवासीको भनाइ छ ।

बिहारमा मदिरा प्रतिबन्धित हुनुपूर्व पर्साको सीमामा पर्ने भारतीय बजार भिस्वा, जानकी टोला, दसावता, पीपलडाँडी, महादेवपट्टीको बलुवा, सुवर्णपुर, बाघमोर्चा, विजयबस्ती, निर्मलबस्ती ठोरी लगायतका स्थानमा मदिरा बिक्रीमा बढोत्तरी भएको पसलेहरूको भनाइ रहेको छ ।

एक जना मदिरा पसलेले पहिले दिनको ३० लिटर मदिरा बिक्री हुन्थ्यो भने अहिले बढेर ५० लिटरसम्म पुगेको बताए । भारतीय क्षेत्रबाट मदिरा पिउन आउने ग्राहकको वृद्धि भएकाले मदिराको खपत बढेको हो ।

विगत दुई वर्षदेखि छिमेकी देश भारतको बिहारमा रक्सी बन्द भएका कारण त्यहाँका मानिस नेपालमा रक्सी पिउन आउन थालेका हुन् । सिमाना खुल्ला भएको फाइदा उठाउँदै उनीहरू रक्सी खाएर होहल्ला गर्ने गरेकोे स्थानीय अभिभावकहरूको गुनासो छ ।

गाउँमा खुलेका रक्सी भट्टीका कारण खास गरी स्कुले बालबालिकाहरूमा बढी असर पर्ने थालेको छ । सीमा क्षेत्रको पाँच सय मिटरभित्र मदिरा खरिद बिक्रीमा रोक लगाएको भए पनि दिनहँु खुल्लेआम बिक्री वितरण भइरहेको स्थानीय रमेश महतोले बताए ।

महतोले भने, ‘गाँउमा दिउँसो सीमावर्ती क्षेत्रबाट प्रवेश गरेर रक्सी पिउने, होहल्ला गर्ने गर्दछन् ।’ यहाँ विनालाइसेन्स घरेलु मदिरा बिक्री हुने गर्दछ । यसले गाउँको वातावरणमा समेत नकरात्मक असर पर्न थालेको स्थानीयको भनाइ छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीका अनुसार मदिरा सेवनका लागि आउने भारतीयकै कारण सीमा क्षेत्रमा झैझगडा बढेकोे बताएका छन् । खुला सीमाकै कारण भारतबाट मदिरा खान आउनेलाई नियन्त्रण गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मदिराले निम्त्याउन सक्ने विभिन्न विकृति र आपराधिक घटनाबारे प्रहरी गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ । रक्सी खाएर होहल्लाका साथमा झैझगडा गर्ने र समाजको शान्ति सुव्यवस्थामा खलल पु¥याउने काम भइरहेको कुरा सह्य नहुने पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राइले बताए ।’

राईले भने, ‘प्रहरीकै आँखा अगाडि अवैध गतिविधि हुँदा पनि मुकदर्शक बन्नु सरासर गलत छ ।’ प्रहरीले घरेलु रक्सीको अवैध कारोबारलाई नियन्त्रण गरिरहेको छ ,यस्तो अझै छ भने नियन्त्रण गर्ने बताए ।

बिहारमा मुख्यमन्त्री नितिश कुमारले १ अप्रिल २०१६ देखि रक्सीमाथि प्रतिबन्ध लगाएका थिए । लगत्तै भारतीय प्रहरीले मदिरा सेवनकर्तामाथि कडाइ गरेको थियो । त्यस क्रममा लुकिछिपी मदिरा सेवन गर्नेलाई कडा कारबाही गरिएको थियो ।

बिहारमा मदिरा सेवन गरे पाँचदेखि १० वर्ष जेल सजाय वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । भारतीय प्रहरीले पक्राउ परेकालाई धमाधम जेल पठाउन थालेपछि बिहारबाट मदिरा सेवनकै लागि नेपाल आउनेको भिड बढेको हो ।

प्रतिक्रिया