दसैँ महँगिने आशंका

डलर र पेट्रोलियम पदार्थसँगै विभिन्न सामानको भाउ बढ्न थालेको छ, व्यवसायीहरूले पनि दसैँमा २० प्रतिशतसम्म भाउ बढ्न सक्ने संकेत गरेका छन्

काठमाडौं । बडादसैँ सुरु हुन भन्डै एक महिना बाँकी छँदा डलर र पेट्रोलियम पदार्थको भाउ बढ्न थालेपछि यो वर्षको दसैँ महँगिने संकेत देखिएको छ । डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दसैँ महँगिने व्यवसायीहरूले बताएका छन् । दसैँमा विशेषगरी तयारी पोसाक, जुत्ताचप्पल र विद्युतीय उपकरणको भाउ १५ देखि २० प्रतिशत महँगिन सक्ने व्यवसायीहरूले उल्लेख गरेका छन् ।

यसका साथै, खाद्यान्यमा समेत भाउ बढ्न सक्ने आशंका बढेको छ । विशेषगरी, चीनबाट आउने सामानमा मूल्यवृद्धि हुने देखिएको छ । यातायात व्यवसायीहरूले सडक अवरोध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका कारण देखाउँदै भाडा वृद्धि गरेका छन् । उनीहरूले केरुङदेखि काठमाडौंसम्म एक कन्टेनर सामान ल्याउँदा करिब दुई लाख रुपैयाँ लिन थालेका छन् ।

यसले पनि दसैँमा आयात हुने सामानको भाउ बढ्ने देखाएको छ । व्यवसायीहरूले अहिले नै विभिन्न नाकाबाट दसँैका सामान ल्याउन सुरु गरिसकेका छन् । नेपाल चेम्बर अफ कमर्सका कोषाध्यक्ष निरज राईले चीनबाट आउने सामान महँगो भएकाले यो वर्षको दसैँमा उपभोक्तालाई अतिरिक्त भार पर्ने बताए ।

‘केरुङमा दसैँका लागि आएका दुई हजारभन्दा बढी कन्टेनर सामान छन् ।अहिले ट्रक तथा कन्टेनर व्यवसायीले समेत भाडा महँगो बनाएकाले सामानको मूल्य थप बढ्ने देखिएको छ ।’ यता, सरकारले भने दसैँमा हुन सक्ने कालोबजारी रोक्न प्रहरीको समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अनुगमन टोलीसमेत खटाउने तयारी गरेको छ ।

आपूर्तिमन्त्री मातृका यादवले चाडबाडको समयमा कालोबजारी गरेको भेटिएमा कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत व्यवसायीलाई दिइसकेका छन् । तर, व्यवसायीले भने अन्य कारण देखाउँदै भाउ बढ्ने स्पष्ट पारिसकेका छन् ।

पछिल्लो समय नेपाली मुद्राको तुलनामा डलरको भाउ निकै महँगो हुँदै गएको छ । एक डलर किन्नका लागि १ सय १६ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था भएपछि विदेशबाट डलरमा आउने सामानको भाउ बढ्नेछ । व्यवसायीले बैंक ऋणमार्फत व्यवसाय गरिरहेको अवस्थामा पछिल्लो समय बैंकले ब्याज बढाएकाले त्यसको असर व्यापारमा पर्ने देखिएको छ ।

पछिल्लो समयमा बैंक ब्याजदर महँगो भएकाले समेत विदेशबाट आयात भएका सामान महँगिने गरेको व्यापारीहरू बताउँछन् । यस वर्ष बैंक तथा वित्तीय संस्थाको औसत आधार ब्याजदर नै १२ प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ओभरड्राफ्टमा कडाइ गरेपछि व्यवसायीले महँगो ब्याजमा सहकारीसँग ऋणसमेत लिइरहेका छन् ।
सरकारले बजार भाउ धेरै नबढोस् भनेर सुलभ पसल सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताए । १२ असोजदेखि सञ्चालन हुने सुपथ मूल्य पसल आगामी २७ कात्तिकसम्म सञ्चालनमा रहनेछ ।

सुपथ मूल्यका पसल सात वटै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले हरेक वर्ष चाडबाडको समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा दैनिक उपभोगका वस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यसपटक साल्ट ट्रेडिङ कर्पाेरेसनले काठमाडौंस्थित कार्यालयअन्तर्गत नौ वटा स्थान र तीन वटा घुम्ती सेवा पसल तथा त्रिशूली बिक्री डिपो सञ्चलन गर्नेछ ।

साथै, कर्पोरेसनको २२ वटा कार्यालयसहित ३६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । यता, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अन्य सामानको भाउ बढ्ने देखिएको छ । नेपाल आयल निगमले १० दिनभित्र दुईपटक भाउ बढाइसकेको छ । सोमबार मात्रै पेट्रोल र डिजलको मूल्य २ रुपैयाँ र ३ रुपैयाँ बढाइएको छ ।

निगमले अझै पनि घाटा रहेको भन्दै थप बढाउने तयारी गरिरहँदा त्यसको असर सबै क्षेत्रमा पर्नेछ । यसले गर्दा पनि बजारभाउ अझै आकासिने देखिएको छ ।  यसैगरी, व्यापारीले सबैभन्दा बढी भने प्रदेश सरकार र स्थानीय सरकारले लिने करका कारण भाउ आकासिने दाबी गरेका छन् ।

स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएकाले त्यही करका कारण भाउ बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ । भारतबाट आयात हुने चौपायामा कर तथा विभिन्न मूल्यांकनले गर्दा खसीबोकाको मूल्य बढेको छ । व्यवसायीका अनुसार ढुवानी खर्च र विभिन्न करका बहानामा प्रतिचौपाया ९ सय रुपैयाँ मूल्य बढेको जानकारी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया