सिंहको जीउ, मानवको शिर मूर्ति भेटियो


इजिप्ट । पुरातत्वविद्हरूले दक्षिणी सहर आस्वानस्थित एउटा प्राचीन मन्दिर भएको क्षेत्रमा मानवको शिर र सिंहको शरीर भएको मिथकीय जीव स्फिंसको मूर्ति फेला पारेका छन् । सो मूर्ति कोम ओम्बो मन्दिरभित्र पानीलाई निकास दिन खोज्दा भेटिएको हो ।

पुरातत्व मन्त्रालयका अनुसार सो मूर्ति बालुकाश्म अर्थात् बालुवा मिसिएको ढुंगाबाट बनेको छ । सो मूर्ति सम्भवतः इसापूर्व ३०५ देखि रोमन आधिपत्यमा पर्नुअघि इसापूर्व ३० सम्म इजिप्टमा शासन गर्ने टोलमी वंशको राज्यकालमा बनेको हो ।

सो मन्दिरमा त्यस्तै ढुंगाको सतहमा कुँदिएका राजा टोलमी पञ्चमका दुईवटा आकृतिहरू पनि केही समयअघि भेटिएका थिए । स्फिंसको मूर्ति २८ सेन्टिमिटर चौडा र ३८ सेन्टिमिटर अग्लो छ ।

आस्वानस्थित पुरातत्व विभागका महानिर्देशकका अनुसार थप अध्ययन गरेर त्यो मूर्ति निर्माणको अर्थ खोजिनेछ । फेअरो भनिने इजिप्टका प्राचीन राजाहरूले सिंहको जस्तो शारीरिक बल र राजाको जस्तो सांसारिक तेजयुक्त स्फिंसलाई आफ्नो राजकीय शक्तिको प्रतीकका रूपमा प्रयोग गर्थे ।

गिजामा पिरामिडहरू भएको स्थानमा रहेको स्फिंसको एउटा भव्य मूर्ति धेरै नै प्रख्यात छ ।

प्रतिक्रिया