गन्तव्य बन्दै बराहताल


बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी सोमबहादुर थापामगरका अनुसार यहाँ बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्छ ।

बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाको बलि दिएर पूजा गर्ने परम्परा छ । ‘भाकल गर्नेले अरू वेला पनि बलि दिएर पूजा गर्छन,’ थापामगरले भने । ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ ।

दैनिक सयौँ आन्तरिक पर्यटक तथा भक्तजन ताल अवलोकनका लागि पुग्ने गर्छन् । २ हजार ८ सय २६ वर्ग मिटरमा फैलिएको सो तालमा पर्यटक आकर्षित गर्न डुंगा सयरको व्यवस्था गरिएको छ ।

एक हजार ३ सय मिटरको उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदल एक घण्टामै पुग्न सकिन्छ । भकुण्डेको घरवास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको समेत अवलोकन गर्ने गरेको ताल संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर थापामगरले बताए ।

समितिको पहलमा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धनका काम भइरहेका छन् । ताल सरंक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सांसद विकास कोष, तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय र गाविसको समेत लगानी छ ।

समितिले मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायतका काम गरिरहेको छ । ‘पर्यटकीय पूर्वाधारको अभाव छ । सडक र पदमार्ग स्तरीय बनाउन आवश्यक छ । पर्यटकलाई खाना र बस्नको असुविधा छ’ अध्यक्ष थापामगरले भने ।

बराहतालसँगै भकुण्डेमा रहेका अन्य गन्तव्यमा पर्यटक आकर्षित गर्न सडक विस्तार आवश्यक भएको वडाध्यक्ष प्रेमबहादुर थापामगरले बताए । भकुण्डेलाई पर्यटकीय गाउँको रूपमा विकास गर्न एकीकृत योजना बनाउन लागिएको छ ।

घरवास, भ्युटावर, बराहताल, बराह मन्दिर, कुथुकर्मको लेक, बागलुङ संग्रहालय र भैरव मन्दिर यहाँका पर्यटकीय गन्तव्य हुन् । ०६८ सालमा सुरु भएको घरवास पर्यटन प्रवद्र्धनले पर्यटक आकर्षित गर्न टेवा पुर्याएको छ ।

मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृंखला अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा निर्मित भ्युटावरबाट विभिन्न हिमालको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया