नाइजिरियामा बाढी, सय बढीको मृत्यु

नाइजिरिया । यहाँका दुई प्रमुख नदीमा बाढी आउँदा सय बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद्‌ व्यवस्थापन निकाय नेमाले ठूलो वर्षाका कारण नाइजर र बेन्यु नदीमा बाढी आएको जनाएको छ।

ठूलो वर्षाले दुई हप्तासम्ममा एकपछि अर्को बाढी निम्त्याएको छ र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। नदीका पानी बग्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न सरकारले आग्रह गरेको छ।

राजधानी अबुजास्थित बीबीसीका इशाक खालिदका अनुसार बाढीका बारण हजारौँ विस्थापित भएका छन् भने मध्य र दक्षिणी नाइजिरियामा बाढीले ठूलो खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ।

नेमा राज्य सबैभन्दा नराम्ररी प्रभावित भएको छ जहाँ ४० जनाभन्दा बढीको ज्यान गएको नेमाका निर्देशक युनुसा माइहाजाले बीबीसीलाई बताए। क्वारा, बेन्यु, ताराबासहित अन्य ११ वटा राज्य प्रभावित भएका छन्।

वर्षा भइरहेकाले आउँदा दिन र हप्ताहरूमा थप बाढी आउन सक्ने भन्दै अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्नेबारे विचार गरिरहेका छन्। नाइजिरियामा वर्षैपिच्छे विनाशकारी बाढी आउने गर्छ।

उचित सहरी योजना नहुनु, पानीका बाटो थुनिनु र कजमोर ढल निकास बाढीका लागि जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया