स्थानीयलार्इ सास्ती

सल्यान । सल्ली–चौहरजारी सडक खण्डको त्रिवेणी बजार नाथे खोलामा निर्माणाधीन पक्की पुलको काम निकै सुस्त गतिमा भइरहेकाले स्थानीयलाई सास्ती खेप्नुपरेको छ । पुल नबन्दा बन्गाड खोलाका कारण असारदेखि सो सडक खण्डमा गाडीहरू चल्न नसक्दा यात्रुहरू पैदल हिँडन बाध्य भएका छन् ।

०७४ पुस मसान्तमा पुलको काम सम्पन्न गरी सम्झौता गरिसक्नुपर्ने भए पनि समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयलाई समस्या भएको हो । ४ करोड १७ लाखमा हरिहरि कन्ट्रक्सनका हरिबहादुर रावत र सडक डिभिजनबीच पुस मसान्तमा काम सक्ने सम्झौता भएको तर म्याद थप्दासमेत कामले तीव्रता लिन नसकेको स्थानीय दलबहादुर परियारले बताए ।

सडक डिभिजन कार्यालय दाङले समेत ताकेता गर्दा हरिहरि कन्ट्रक्सनका हरिबहादुर रावतले कामलाई खासै प्राथमिकतामा नपारेको डिभिजन कार्यालयको भनाइ रहेको छ । पुलको सेटिङको कामसमेत निकै सुस्त गतिमा भइरहेको स्थानीयको भनाइ रहेको छ ।

ठेकेदारले सेटिङ सामग्री उपलव्ध नगराउँदा र थोरै ज्यामीका कारण आउँदो वर्षमा समेत पुलको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको स्थानीय तिलाराम बुढाले बताए । बुढाका अनुसार निर्माण कम्पनीले काम समयमा पूरा नगरेका कारण स्थानीयलाई बजारमा समेत आवतजावत गर्न कठिनाइ हुने गरेको छ ।

वर्षात्मा आएको बन्गाड खोलाले निर्माणाधीन पुल आधा बगाउँदासमेत वर्षात् हट्दै गर्दा पनि ठेकेदारले सामान नपठाउँदा निकै ढिलाइ भएको स्थानीयको भनाइ छ । पक्की पुलको काम ढिलाइसँगै सो सडक खण्डको आमखोलीदेखि नाथेखोलासम्मको पाँच किमी पिचको कामसमेत कछुवाको गतिमा रहेको छ ।

एक वर्ष बितिसक्दासमेत सडकको डबल कटिङ, नाली, जाली र होम पाइपको काम ५० प्रतिशत मात्रै भएको छ । आमखोलिदेखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी बजार नजिकै सम्मका लागि भनेर सिग्मा गाल्वा कन्ट्रक्सनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय दाङ र कन्ट्रक्सनका नरहरि थपलियाबीच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ साउनमा सम्झौता भयो । तर, गाल्बा कन्ट्रक्सनका नरहरि थपलियाले ४९ लाख पेस्की बुझेर पनि कामको जिम्मा दोस्रो व्यक्ति रामबहादुर विष्टलाई दिएका छन् ।

सडक डिभिजन कार्यालय दाङले सो सडकमा कामको जिम्मा लिने तर पूरा काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा उल्टै पुनः काम थमाउने गरेको स्थानीय बताउँछन् । चौहरी सडकखण्डकै ०७०÷७१ सालमा ठेक्काको पाँच वर्षअघिको हिमडुङ ठोकर काठमाडांैको फर्मको कामसमेत अलपत्र अवस्थामा रहेको छ ।

हालसम्म सो काम पूरा नभएको डिभिजन कार्यालयको भनाइ रहेको छ । अर्को ठेक्का पाएको मल्ल प्रदीप जेभीले काम सुरु नगर्दै एक किलोमिटर सडकमा भर्खरै गरेको ग्राबेल, नालीसमेत भत्केको छ ।

प्रतिक्रिया