सृष्टि र किशोरको जोडी जम्यो


काठमाडौं । चलचित्र ‘बाँध मायाले’ को तेश्रो गीत सार्वजनिक भएको छ । गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘सँग–सँगै’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । संगीतकार पोखरेलकै शब्द रहेको उक्त गीतको भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्काको फिचरिङ छ ।

रामजी लामिछानेको कोरियोग्राफर रहेको रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । यसअघि सार्वजनिक ‘बाँध मायाले’ को शिर्ष गीतलाई निकै रुचाइएको जनाउँदै निर्माण पक्षले चलचित्रको प्रोमोले दर्शकको ध्यान तानेको बताएको छ ।

आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई सवीर श्रेष्ठ निर्देशन गरेका छन् ।चलचित्रमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । साथमा नवनायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको यो चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रूपमा रहेका छन् भने सहनिर्माता महेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया