आशिष र अदिती बने मोडल हन्ट

काठमाडौं । ३१ प्रतिस्पर्धीलाई पछि पार्दै आशिष केसी र २४ प्रतिस्पर्धीलाई उछिन्दै अदिती अधिकारीले ‘मोडल हन्ट नेपाल २०१८’ को उपाधि हात पारेका छन् । राजधानीस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा आशिषले युवातर्फ र अदितीले युवतीतर्फको उपाधि जित्न सफल भएका हुन् ।

प्रतियोगिताका दुवै विजेताले ताजसहित नगद पुरस्कार ५० हजार प्राप्त गरे । आशिषले मिस्टर ओसियन तथा अदितीले सुपर मोडल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएका छन् । उनीहरू कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बनेका छन् ।

त्यस्तै, आशिष र अदितीले कमर्सियल मोडलको अवार्डसमेत जित्न सफल भए ।नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल प्रतियोगिताको रूपमा स्थापित मोडल हन्ट नेपालको यो चौथो संस्करण हो ।

प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनरअप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनरअप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनरअप घोषित भए । रनरअप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलीले २० तथा आदर्श र सन्नीले १५ हजार हात पारे ।

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताको प्रस्तुतीकरण र आयोजनालाई परिष्कृत र स्तरीय बनाउन आफू सफल भएको कार्यक्रम आयोजनाका प्रमुख रवि धमलाले बताए । आइसी स्कुल अफ आर्ट एन्ड फेसनका विद्यार्थी डिजाइनरले बनाएका विभिन्न पहिरनमा मोडेलले र्याम्पसमेत नापेका थिए ।

प्रतियोगिताको निर्णायकमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आइसी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक शैलजा अधिकारी, फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारमिता आर एल राणा रहेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको रनवे स्टेज, झकिझकाउ सजावट र व्यवसायिक प्रस्तुतिले अविष्मरणीय बन्न पुगेको यो फेसन सो तथा प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रतियोगिताले नेपाली युवालाई सकारात्मक दिशामा लैजान भूमिका खेल्ने बताउँदै आयोजक संस्थाकी यतना पाण्डेले भनिन्, ‘नेपालको मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्नका लागि मोडल हन्ट नेपालले महत्वपूर्ण योगदान दिनेछ ।’

प्रतियोगितामा विशाल गिरी र किरण चन्द पर्सनालिटी, आदर्श ज्ञवाली र हेली गुरुङ क्रमशः फिजिक र फिगर, सफलजंग शाह र रुबिस्का श्रेष्ठ फोटोजेनिक, पोशन शर्मा र भावना बन्जारा वेस्ट वाक अवार्डमा विजेता बनेका थिए ।

त्यसैगरी, सम्राट चौरेल र रितु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने पब्लिक च्वाइस, सुजन थापा र रितिका शर्मा स्टाइलिस तथा सफलजंग शाह र सन्नी महर्जन सोसियली रेस्पोन्सिबल विधातर्फ विजेता बने ।

प्रतिक्रिया