ललितपुरमा बेसबल मैदान

काठमाडौं । ललितपुरको नखुडोलमा श्रीकुल लालीगुराँस बेसबल मैदान निर्माण गरिएको छ । ललितपुर नख्खुको श्रीकुल स्कुल र जापानको लालीगुराँस बेसबल क्लबको आर्थिक सहयोगमा निर्मित मैदानको नेकपाकी सांसद पम्फा भुसाल र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शनिबार संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा राजदूत ओगावाले खेलकुदले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ललितपुर क्षेत्र नम्बर–३ की सांसद भुसालले बहुउद्देशीय कभर्डहल निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाइन् ।

ललितपुर–२५ नखुडोलमा पाँच रोपनी क्षेत्रफलमा निर्मित मैदान नेपालको पहिलो बेसबल मैदान भएको ललितपुर बेसबल संघका अध्यक्ष केशव थापाले जानकारी दिए । उनले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षका लागि जग्गा लिजमा लिएर मैदान निर्माण गरिएको बताए ।

जापानी क्लब लालीगुराँसको ७० प्रतिशत र श्रीकुल स्कुलको ३० प्रतिशत आर्थिक सहयोगमा निर्माण भएको मैदानमा बेसबलको नियमित प्रशिक्षण सुरु गर्ने थापाले जानकारी दिए । मैदान अभावमा खेलाडीले नियमित प्रशिक्षण गर्न नपाएपछि दाताको सहयोगमा मैदान निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया