कांग्रेसमा अनुशासन समितिको विवाद चुलियो

काठमाडौं । अनुशासन समिति गठनको विवादका कारण नेपाली कांग्रेसमा विवाद चुलिएको छ । देउवार पौडेलबीच संयोजक कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएपछि केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगि गरिएको छ ।

बिहीबार बोलाइएको बैठक साँझसम्म बस्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । अनुशासन समिति गठनका विषयमा सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको बेग्लाबेग्लै धारणा छ ।

विवाद त्रिपक्षियजस्तो देखिए पनि मुख्यत ः देउवा र पौडेलवीच नै रहेको एक केन्द्रीय सदस्यले बताए । अनुशासन समितिका लागि देउवाले पौडेलसंग दुईजनाको नाम मागेका थिए । तर संयोजक रहने व्यक्तिको टुंगो नलागेसम्म आफ्नो तर्फबाट पौडेलले कसैको नाम नदिएको श्रोतले बताएको छ ।

देउवाले भिष्मराज आङदम्वेलाई संयोजक बनाउन चाहेको बताइएको छ । पौडेल भने कुनै वरिष्ठ सदस्यलाई अनुशासन समितिको संयोजकको जिम्मेवारी दिनु पर्ने अडानमा छन् । देउवाले भने संयोजकका वारेमा पौडेलसंग छुट्टै छलफल गर्न अस्वीकार गरेको श्रोतले बतायो ।

कृष्णप्रसाद सिटौलाले भने पहिले नै गठन भएको रमेश रिजाल संयोजकत्वको अनुशासन समितिलाई केन्द्रीय समितिबाटै भंग गरेर मात्र अर्को गठन गर्नु पर्ने बताएका छन् । रिजालको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा हृदयराम थानी, कमला पन्त, सुरेन्द्र पाण्डेय र उमाकान्त चौधरी सदस्य थिए ।

जसमध्ये रिजालले पदबाट राजीनामा दिइसकेका छन् भने थानी र पन्तले समितिमा नबस्ने बताइसकेका छन् । यसैगरी नेता पाण्डेयले आफू राष्ट्रियसभामा प्रतिपक्षी दलको नेता भइसकेकाले समितिमा बस्न नसक्ने बताएका छन् ।

तर रिजाल भने बाँकी रहेका एक मात्र सदस्य उमाकान्त चौधरीको संयोजकत्वमा समिति पुनर्गठन गरिनु पर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया