विराटको टेस्टमा नम्बर यथावत्

आबुधाबी । भारतीय क्रिकेटका कप्तान विराट कोहली आइसिसीको टेस्ट क्रिकेटको ब्याट्सम्यानमा शीर्ष स्थानमा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जारी गरेको नयाँ वरीयतामा विराट ९ सय ३० अंकसहित शीर्ष स्थानमा यथावत् छन् । बल टेम्परिङमा दोषी पाइएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धमा परेका स्टिभ स्मिथले अझै दोस्रो स्थान जोगाई राखेका छन् ।

विराटले स्मिथलाई १ अंकले मात्र पछि पारेका छन् । इंग्ल्यान्डविरुद्ध ५ टेस्ट शृंखला ४–१ ले गुमाएको भारत पनि टेस्टमा शीर्ष स्थानमा यथावत् नै रहेको छ । कोहलीले इंग्ल्यान्डविरुद्ध ५९.३० को औसतमा ५ सय ९३ रन बनाएका थिए । इंग्ल्यान्डसँगको शृंखला सुरु हुनु पूर्व विराट दोस्रो स्थानका स्मिथभन्दा २७ अंकले अगाडि थिए । तर, शृंखलापछि भने विराटको अग्रता कम भएको छ ।

यससँगै वेस्ट इन्डिजविरुद्धको टेस्टमा विराटले उत्कृष्ट पारी नखेले शीर्ष स्थान गुम्नेछ । विराट एकदिवसीय क्रिकेटमा पनि शीर्ष स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका एलेस्टर कुक टेस्ट वरीयताको दशौँ नम्बरमा रहेका छन् । इंग्ल्यान्डका जेम्स एन्डरसन भने बलिङतर्फ शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया