विश्वकप विजेता लोरिसलाई सजाय


लन्डन । फ्रान्सलाई विश्वकप जिताएका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले इंग्ल्यान्डमा २० महिना गाडी चलाउन नपाउने भएका छन् । लगातार दोस्रोपटक इंग्ल्यान्डको कानुन उल्लंघन गरेपछि लन्डनमा वेस्ट मिनिस्टरको अदालतले लोरिसमाथि उक्त सजाय तोकिएको थियो ।

पश्चिम लन्डनको बेर्लिबोनमा गत २४ अगस्टमा लोरिसलाई अत्यधिक मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा वेस्टमिनिस्टर पुलिसले पक्राउ गरेको थियो । इंग्ल्यान्डमा ३५ माइक्रोग्रामभन्दा माथि मादक पदार्थ सेवन गरेर गाडी चलाउन पाइँदैन ।  यद्यपि, लोरिसले ८० माइक्रोग्राम मादक पदार्थ सेवन गरेका थिए ।

जसका कारण लोरिसलाई ड्रिंक एन्ड ड्राइभ मुद्दामा २० महिना गाडी चलाउन प्रतिबन्धसँगै ५० हजार पाउन्ड जरिवानासमेत गरिएको छ । लोरिसले ४८ किलोमिटर प्रतिघन्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघन्टाको गतिमा मात्र गाडी कुदाएपछि स्थानीय पुलिसले समातेको थियो ।

पहिलो चेकजाँचमा अत्यधिक मादकपदार्थ सेवन गरेको पुष्टि भएपछि अदालतले लोरिसमाथि सजाय ताकेको थियो ।

प्रतिक्रिया