ब्रिगेडमा ३ विदेशी खेलाडी

काठमाडौं । आगामी १४ असोजदेखि हुने भनिएको ‘ए’ डिभिजन लिग फुटबललाई लक्षित गरी ब्रिगेड ब्वाइज क्लबले ३ विदेश खेलाडीलाई अनुबन्धन गरेको छ । ४ वर्षपछि हुन लागेको ‘ए’ डिभिजन लिगका लागि क्लबले नाइजेरियाका तीन खेलाडी दाजुभाई कजिम एन्टी जी, टी जी र करिमलाई अनुबन्धन गरेको छ ।

नियमअनुसार एक क्लबले ४ विदेशीसहित १८ देखि ३५ खेलाडी राख्न पाउने प्रावधान रहेको छ । क्लबका व्यवस्थापक स्मिथ लामाका अनुसार कजिम एन्टी जी र टी जी अग्रपक्तिमा रहेर खेल्नेछन् । करिमले भने मिडफिल्ड सम्हाल्नेछन् । यसै वर्ष यू–१८ ललित स्मृति कपसमेत जितेको क्लबले सोही उमेर समूहका खेलाडीलाई पनि लिगमा उतार्दै छ ।

यता, मनाङ मस्र्याङ्दीले पनि ओलावाले अफिजलाई भित्र्याउने भएको छ । एक समय नेपाली व्यवसायिक फुटबलमा निकै चर्चा कमाएका अफिज हाल बंगलादेशको घरेलु फुटबलमा खेल्दैछन् । यसअघि उनले रानीपोखरी कर्नर टिम(आरसिटी) र थ्री–स्टारबाट खेलेका थिए ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले यसपटक रेलिगेसनविना नै लिग गर्न लागेको छ । ४ वर्षसम्म अवरुद्ध लिग पुनः सञ्चालनमा ल्याउन एन्फाले पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटीसमेत गठन गरेको थियो ।

यसपटक लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री–स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् ।

प्रतिक्रिया