जितको खोजीमा नेपाली यू–१९ क्रिकेट टिम

काठमाडौं । भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)को आयोजनामा लखनउमा जारी यू–१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपाल शुक्रबार भारतको यू–१९ क्रिकेट टोलीको ‘ए’ टिमसँग खेल्दै छ । यसअघि नै पहिलो खेलमा ‘बी’ टिमसँग पराजित भएको नेपाल दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यमा रहेको छ ।

कुल ४ टोलीको सहभागिता रहेको चौकोणात्मक शृंखलामा बुधबार नेपाल भारतको ‘बी’ टिमसँग ४० रन र अफगानिस्तान १ सय ४० रनले पराजित भएको थियो । यद्यपि, तुलनात्मक बलियो मानिएको भारतको ‘ए’ टिमविरुद्ध शुक्रबार नेपाल जित निकाल्ने दाउमा रहेको छ ।

खेल भारतको लखनउस्थित नवनिर्मित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल बिहान ९ः१५ मा भारतमाथि चुनौती प्रस्तुत गर्नेछ । जितका लागि आफ्नो ब्याटिङ प्रदर्शन सुधार गर्ने नेपालकोे पहिलो लक्ष्य हुनेछ । साथै, पछिल्लो बलिङ लयलाई समेत निरन्तरता दिनुपर्नेछ । गत बर्ष नोभेम्बरमा भारतीय यू–१९ टिमलाई पराजित गरेको इतिहास दोहोर्याउने उद्देश्यको साथ नेपाली युवा टिम मैदानमा उत्रनेछ ।

उता अफगानिस्तानलाई सहजै पराजित गरेपछि भारत यू–१९ ‘ए’ त्यही लयको आशामा हुनेछ ।नेपालले गत वर्ष नोभेम्बरमा मलेसियामा भएको यू–१९ एसिया कपमा भारतीय यू–१९ टिमलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो । जतिवेला यू–१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविडले नेतृत्व गरेका थिए । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले १ सय ८५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको भारतको यू–१९ टिम नेपालको बलरसामू घुँडा टेक्दै १ सय ६६ रनमा समेटिएको थियो । जतिवेला कप्तानी गरेका दिपेन्द्र ऐरीले अलराउन्ड प्रदर्शन गर्दै ८८ रन बनाउँदा ४ विकेटसमेत लिएका थिए । कुनै पनि स्तरको क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलोपटक हो । यद्यपि, यसपटक स्टार खेलाडी दीपेन्द्र, सन्दीप लामिछाने, जितेन्द्रसिंह ठकुरी टिममा छैनन् ।

आगामी १३ असोजदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रूपमा भारतको प्रतियोगितालाई हेरिएको छ । नेपाली टोलीमा आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् ।

टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । भारत यू–१९ ‘ए’ टिममा पवन साह (कप्तान), देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति छन् ।

खेल समय : शुक्रबार बिहान ९ः१५
मैदान–एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, लखनउ

प्रतिक्रिया