फजस्केपमा मैथिली संस्कृति

काठमाडौं । जनकपुरको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक विषय जोडिएको सांगीतिक वृत्तचित्र सार्वजनिक हुँदैछ । काठमाडौंमा रहेको प्रडक्सन कम्पनी फज् फ्याक्ट्री प्रडक्सन्सले निर्माण गरेको सांगीतिक वृतचित्र शृंखला फजस्केपको नयाँ भाग आगामी शनिबार युट्युबमार्फत सार्वजनिक गरिने भएको छ ।

‘प्रिन्स क्लाउस फन्ड्स र ब्रिटिस काउन्सिल’को सहयोगमा बनाइएको वृतचित्रमा संगीतकर्मी रंजन झा, राजन श्रेष्ठ र रोहित शाक्यले रचेको गीत पनि प्रस्तुत गरिएको छ । उनीहरूले जनकपुर यात्रामा आधारित भई रचेको उक्त गीतमा स्थानीय मौलिकता ध्यान दिइएको छ ।

ऐतिहासिक र सांस्कृतिक दृष्टिले जनकपुर नेपालको एक महत्वपूर्ण स्थल हो । कला र संस्कृतिको केन्द्रका रूपमा परिचित जनकपुरधामको चर्चा ऋग्वेदमा गरिएको निर्माण पक्षले जनाउँदै वृत्तचित्रमा सांस्कृतिक पहिचानलाई देखाउने कोशिस गरिएको छ ।

जनकपुर विदेह राज्यको राजधानीका रूपमा चर्चित तथा राजा जनक र सीताको जन्मभूमि पनि हो । यो स्थानमा प्राचीनकालदेखि नै मैथिली कला र संस्कृतिका लागिसमेत प्रसिद्ध छ ।

कलाकार टोलीले वृत्तचित्रमा जनकपुरको कला, समाज र संस्कृतिलाई आत्मसात् गर्दै गीत रचना गरेका छन् । साथै, त्यहाँको समाजमा महिलाको भूमिका र उनीहरूले पु¥याएको योगदानलाई समेत वृत्तचित्रमा समावेश गरेका छन् ।

जनकपुरमै जन्मे हुर्केका रञ्जन झा एक संगीत निर्माता र डिजे पनि हुन् । उनले विभिन्न किसिमका ध्वनि प्रयोग गरेर त्यसलाई ड्रम एन्ड बेस शैलीमा ढालेका छन् । यसको लागि उनले कम्प्युटर तथा अनालोग प्रविधि प्रयोग गरेका छन् । उनी ‘जिरो माइल’ ब्यान्डमा समेत संलग्न छन् । उनले आफ्नो नयाँ प्रयोगलाई गीत र वृत्तचित्रमा प्रयोग जनाए ।

फजस्केप कला सिर्जनामार्फत समाजका नदेखिएका मिहिन विषयलाई बाहिर ल्याउने गरी सोचिएका एक अवधारणा हो । यसमार्फत अनुभव बटुल्ने र बाँड्ने गरिएको रंजनले बताए ।

उनले भने, ‘फजस्केप सांगीतिक वृतचित्र कार्यक्रम हो ।’ यसमा सिर्जनात्मक कलामा लागेका कलाकारको समूहले नेपालका विभिन्न ठाउँमा यात्रा गरी त्यहाँको समुदाय र संस्कृतिको अध्ययन अनुसन्धान गर्दै त्यसबाट सिकेको अनुभवलाई संगीतमा ढाल्ने गर्छन् ।

वृत्तचित्र बनाउने क्रममा यसमा आबद्ध कलाकारले स्थानीय संगीतकर्मीसँग सहकार्य गरिएको अर्का कलाकार राजन श्रेष्ठले बताए । भ्रमण गरिएको स्थान, त्यहाँका परम्परागत र सांस्कृतिक रूपमा महत्वपूर्ण संगीतबाट प्रभावित भई नयाँ संगीत सिर्जना गर्दै आएको समूहका सदस्य रोहित शाक्यले बताए ।

समूहले नेपालको संस्कृति र सम्पदालाई स्थायीरूपमा संरक्षण गर्ने लक्ष्य राखेको उनले जनाए । समूहले यो वर्षदेखि भ्रमणमा संकलन गरिएका थप लेख, अडियो र भिडियोलाई समेत वेभसाइटमा संग्रह गर्ने जनाएको छ । नेपालका अमूर्त सांस्कृतिक सम्पदाको स्थिति र त्यस वरिपरीका मुद्दामा स्थानीय युवामाझ संवाद गरी फजस्केपको समूहले कार्यशाला गर्दै आएको रञ्जनले जानकारी दिए ।

कार्यशालामार्फत युवाले सम्पदा संरक्षणलाई आफ्नो दायित्व सम्झेर जागरुक बनुन् भन्ने समूहको मुख्य उद्देश्य रहेको रञ्जनले बताए ।

फजस्केपअन्तर्गत हालसम्म काभ्रे, वीरगञ्ज र भोजपुर यात्राको गरी छोटा वृतचित्रको शृंखला निर्माण गरिएको छ । फ्जस्केप समूहमा वर्षा वायोमी राई, हिमाल थापा, निरज चक्रधर, न्हुजः तुलाधर, प्रसित स्थापित, प्रतीक शाक्य, राजन श्रेष्ठ, रेवत श्रेष्ठ, एन्जिला श्रेष्ठ, रोहित शाक्य, निर्माण श्रेष्ठ र प्रमेश शेरचन रहेका छन् । समूहले स्थानीय मौलिक संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ काम गरिरहेको सदस्य राजन श्रेष्ठले बताए ।

प्रतिक्रिया