मन्दिरमा पशुबलि प्रतिबन्ध

कोलम्बो । श्रीलंकाको सरकारले देशमा भएका हिन्दू मन्दिरहरूमा पशुबलिलाई प्रतिबन्ध लगाउन सहमति व्यक्त गरेको छ ।

सरकारका एक प्रवक्ताले बिबिसीलाई बताएअनुसार पशुबलिलाई प्रतिबन्ध लगाउने प्रस्ताव हिन्दू धार्मिक मन्त्रालयले गरेको हो र अधिकांश उदार हिन्दू समूहहरूले त्यसको समर्थन गरेका छन् ।

केही हिन्दूहरूले मन्दिरमा बोका, पाडा र कुखुराको बलि चढाउने गर्छन् । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलंकामा ‘अमानवीय’ भन्दै बलिप्रथाको लामो समयदेखि विरोध हुँदै आएको छ ।

हिन्दू र मुस्लिम पर्वहरूमा रगत बगाएर पशुपंक्षीहरूको बलि दिने चलन छ । त्यसबाट पशुअधिकारवादी र बौद्ध समूहहरू आक्रोशित हुने गरेका छन् ।

धेरै हिन्दूहरूले बलि दिन छोडेका छन् । तर, बलि दिनेहरूले भने सो प्रतिबन्धले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने तर्क गरेका छन् । आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ ।

पशुबलिसम्बन्धी नयाँ कानुनले मुसलमानहरूको परम्परालाई भने छुने छैन । श्रीलंकामा मुसलमानहरू तेस्रो ठूलो समुदायका रूपमा बसोवास गर्दै आएका छन् । केही वर्षयता त्यहाँ धार्मिक हिंसाका घटनाहरू बढेका छन् ।

गत मार्च महिनामा भएको मुसलमानविरोधी दंगामा तीन जनाको मृत्यु भएको थियो । त्यतिवेला मुसलमानहरूको स्वामित्वमा भएका झन्डै ४ सय ५० घर र पसलहरू क्षतिग्रस्त भएका थिए ।

प्रतिक्रिया