कालीगण्डकी उर्लिएसँगै सतर्कताको उर्दी

पर्वत । मुस्ताङ र म्याग्दीको उपल्लो क्षेत्रमा अत्यधिक वर्षासँगै कालीगण्डकी उर्लिएर आएको छ ।

गएको असार र साउन महिनाभन्दा अझै ठूलो आकारमा नदी बढेका कारण पर्वत र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले माइकिङ गरी सबैलाई सचेत गराएको छ ।

सचेतसँगै जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसमेत परिचालन गरेको छ । नदी किनारमा बसेकालाई सुरक्षित ठाउँमा सार्नका लागि प्रहरी परिचालन गरिएको पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले प्रहरी टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेसँगै प्रभावितहरूलाई व्यवस्थापन गरेको बताए ।

कालीगण्डकीको बहावले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा कटान गरेको छ । बुधबार अपराह्नदेखि रघुगंगा नदीमा आएको बाढीले कटान गर्न थालेपछि घ्याँसीखर्क गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले बताए ।

रघुगंगामा आएको बाढी पसेर रितुङ मावि र स्वास्थ्य चौकीको भवनमा क्षति पुर्याएको छ । रघुगंगाको कटानको जोखिममा रहेका बस्तीका बासिन्दाहरूलाई सतर्कता अपनाउन र सुरक्षित हुन गाउँपालिकाले अनुरोध गरेको छ । यसैगरी, माथिल्लो क्षेत्रमा भएको वर्षातपछि म्याग्दी, रघुगंगा नदीमा पनि पानीको सतह निकै बढेको छ ।

कालीगण्डकीको पानी जम्मा हुने गरेको स्याङ्जा, गुल्मी र पर्वतको सिमानामा पर्ने शालिग्राम शिलारहेको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन भन्दै प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय ह्वासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए । मुस्ताङमा स्वास्थ्यचौकी र आमा समूहको भवन पुरियो नदीमा अत्यधिक रूपमा बहाब बढेपछि मुस्ताङको थासाङ गाउँपालिका–४ कुञ्जोमा पहिरोले स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएको छ ।

यसैगरी, अत्यधिक वर्षापछि खोल्सामा आएको बाढीले थासाङ गाउँपालिका–२ मा पर्ने सौरका १० घरमा क्षति पुगेको कोवाङ प्रहरीचौकी मुस्ताङले जानकारी दिएको छ । बाढी घरभित्र पसेपछि स्थानीयवासी विस्थापित भएका छन् । थासाङ गाउँपालिकाको टिटी क्षेत्रमा पनि बाढी पहिरोले खेतीयोग्य जमिन पुर्नुका साथै जमिन पनि बगाएको छ ।

प्रतिक्रिया