सुधारिएको पानी घट्टप्रति आकर्षण

सल्यान । कुनैवेला यस जिल्लाका विभिन्न स्थानमा पानीबाट चल्ने घट्टको संख्या धेरै रहेको थियो । तर, पछिल्लो समय परम्परागत रूपमा सञ्चालनमा रहेका पानी घट्टको संख्या घट्दै गएको छ ।

पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरूले अझै पनि घट्टबाट नै कुटानी र पिसानी गर्ने गरेको देख्न सकिन्छ । तर, पछिल्लो समयमा बिजुली बत्तीको विस्तारसँगै घट्टको संख्यामा कमी आएको छ । परम्परागत घट्ट लगभग चल्नै छाडेका छन् । अहिले सल्यान जिल्लाका विभिन्न स्थानमा सुधारिएको घट्टहरू भने अझै पनि सञ्चालनमा छन् ।

जिल्लाको सिद्द–कुमाख गाउँपालिका ढोरचौरमा बिमला रेउलेले एक वर्ष अघिदेखि सञ्चालन गरेको सुधारिएको पानी घट्टबाट राम्रै आम्दानी गर्छिन् । पहिले परम्परागत रूपमा पानी घट्ट सञ्चालन गर्दै आएको बताउँदै उनले सुधारिएको पानी घट्ट सञ्चालनबाट पहिलेको भन्दा अहिले आम्दानी राम्रो हुने गरेको बताइन् ।

‘पहिले गर्मी मौसममा खोलाको पानी सुक्ने वेला घट्ट सञ्चालन गर्न कठिनाइ हुने गथ्र्यो’, उनले भनिन्, ‘अहिले सुधारिएको घट्ट सञ्चालन गरेदेखि खाली बस्नुपरेको छैन ।’

यसरी कुट्न आउनेसँग पाथीको एक माना वा १५ रुपैयाँ ज्याला लिने गरेको उनले बताइन् । यसरी आएको रकमबाट आपूmलाई चाहिने लत्ताकपडा र अन्य आवश्यक सामग्री खरिद गर्न सहज भएको उनको भनाइ छ ।

विमलाले साना उद्योगअन्तर्गत अहिले घट्ट सञ्चालन गरेर आफैँले आफ्नाे आवश्यकताहरू पूरा गरिरहेको बताइन् । पैसाका लागि आफ्नाे पतिको अगाडि हात थाप्नुपर्दैन उनी भन्छिन्, ‘आफ्नो आधारभूत आवश्यकता पूरा गर्न र परिवार धान्नका लागि साना उद्योगले धेरै मद्धत गरेको छ ।’

जिल्लामा अहिले उनीजस्तै अधिकांश महिलाहरू साना उद्योगतर्फ आकर्षित भएका छन् । महिलाहरूले अहिले ब्युटीपार्लर, सिलाइकटाइ, हस्तकला सजावट लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

साना उद्योगतर्फ महिलाहरूको आकर्षण बढ्न थालेपछि जिल्लामा विभिन्न सीपमूलक तालिम पनि सञ्चालन भइरहेका छन् । घरेलु तथा साना उद्योग सल्यानले गत आव ०७४-७५ मा ४ सय २९ महिलालाई सीपयुक्त तालिम दिएको जनाएको छ ।

घरेलुले हस्तकला, सजावट, गुडिया, ब्युटीपार्लर, सिलाइकटाइ, हाउस वाइरिङ, बाँस निगालो फर्निचर तथा सामग्री, मेसिन तथा मोबाइल मर्मत, मौरीपालनजस्ता तालिम दिँदै आएको र सीप सिकेकालाई ८० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराउँदै आएको घरेलुका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताए ।

प्रतिक्रिया