दिवा खाजाले विद्यार्थी आकर्षित

दोलखा । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नौ वटा स्थानीय तहमध्ये पहिलोपटक भीमेश्वर नगरपालिका दोलखाले सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिकाले बालविकास कक्षादेखि कक्षा १ सम्मका सामुदायिक विद्यालयका २ हजार ४ सय ८४ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो ।

दैनिक विद्यालय नआउने बालबालिकाहरू दिवा खाजाको व्यवस्थापछि नियमित विद्यालय आउन थालेको कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले बताए । विगतमा विद्यार्थीहरू भर्ना हुने तर, बीचबीचमा विद्यार्थीहरू नआउने अवस्था थियो तर अहिले खाजाको व्यवस्था गरेसँगै विद्यार्थीको संख्या भर्ना भएको आधारमा नै विद्यार्थीहरू विद्यालय नियमित आउन थालेको उनले जानकारी दिए ।

कालिञ्चोक माध्यमिक विद्यालयमा मात्र होइन दोलखाको भीमेश्वर नगरपालिका–५ मा रहेको बिसुन्टोल प्राविमा पनि खाजाको व्यवस्था गरेसँगै विद्यालय आउने विद्यार्थीको संख्यामा वृद्धि भएको प्रधानाध्यापक परशुराम थापाले जानकारी दिए । साथै, उनले यो कार्यक्रमले विद्यार्थीमा पढ्ने वातावरण साथै विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग गरेको दाबी गरे ।

दोलखाको भीमेश्वर नगरपालिकभित्र रहेका ४४ सामुदायिक विद्यालयमा शिशु कक्षामा ५ सय ३४ जना र कक्षा १ सम्म १९ सय ७० बालबालिका गरी २४ सय ८४ बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको भीमेश्वर नगरपालिकाका शिक्षा शाखा अधिकृत अर्जुन कार्कीले बताए ।

नगरपालिकाले प्रतिविद्यार्थी १५ रूपैयाँका दरले अहिले ६ महिनाका लागि दिवा खाजाको व्यवस्था गरेको छ । खाजाबापत्को रकम भीमेश्वर नगरपालिकाले चौमासिक रूपमा विद्यालयको खातामा रकम जम्मा गरिदिने व्यवस्था गरेको मेयर भरत केसीले बताए ।

भीमेश्वर नगरपालिकाले सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई निःशुल्क विद्यालय पोसाकको व्यवस्था गरेको छ भने सामुदायिक र निजी विद्यालयमा विद्यालय पोसाकमा एकरूपतासमेत कायम गरेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया