नेपाल पुनः असफल

काठमाडौं । नेपाल साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलबाटै बाहिरिएको छ । समूह चरणमा उत्कृष्ट प्रर्दशन गरेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग स्तब्ध हँुदै अन्तिम चारबाटै बाहिरिएको हो ।

बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले स्तब्ध भयो । पहिलोपटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो ।

इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीको फ्रि किक गोलमा नेपाल पछि परेको थियो । विमल घर्तिमगरले माल्दिभ्सका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई घानीले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ८४औँ र ८६औँ मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । पहिलो हाफमा नै १–० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरू बनाएको थियो ।

बलमा राम्रो लय बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन । २७औँ मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरू बनाएको थियो ।

खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे । खेलभर नेपालले गरेको १६ प्रहारमा ४ प्रहार मात्रै पोस्टको दिशामा गएको थियो । माल्दिभ्सले १४ प्रहार गरेकोमा ७ प्रहार पोस्टको दिशामा थियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एकपछि अर्को गल्ती हुनु हारको मुख्य कारण भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले सोच अनुसारको खेल्न सकेनौँ ।’ उनले अगाडि भने, ‘मौसमले पनि राम्रो साथ दिएन । केटाहरूले गल्तीमाथि गल्ती गर्दै गए । खेलमा पहिलो गोल म्याच टर्निङ प्वाइन्ट भयो । माल्दिभ्सका खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो थियो ।’

साफका पछिल्ला दुई सेमिफाइनलमा गोल गर्न नसकेको नेपालले यसपटक पनि कुनै गोल थप्न सकेन । नेपाली टोलीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो सुरुआत गरे पनि गोल गर्न भने सकेन । लगातार गोल गर्ने अवसर चुकाउँदा हतोत्साहित भएको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको थियो ।

प्रतिक्रिया