बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या

बर्दिया । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिको र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानुनी कारबाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तः मनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिबारे प्रस्ट भन्न सक्दिनन् र घटनाबारे सोधपुछ गर्दा बोल्दै बोल्दिनन् ।

त्यसो त उनी आफू बलात्कृत भई पीडित भएको भन्ने उनीलाई आभास हुन सकेको छैन । यस्तो अवस्थामा बलात्कृत गर्ने व्यक्तिको पहिचान गर्न झनै समस्या देखिएको छ । घटनाबारे उनले घर नजिकैको सोल्टी टोलका एकजना केटाले सम्पर्क गर्न मागेको र जंगलमा लगी बलात्कार गरेको हो भन्ने गरेकी छिन् ।

उक्त व्यक्तिलाई देखेँ भने चिन्छु पनि भन्ने गरेकी छिन् । तर, ती व्यक्तिको पहिचान र उनका लागि न्याय कहीँ कतैबाट पहल हुन सकेको छैन । उनी गत वैशाख महिनामा घरबाट ठाकुरबाबा नपाको सैनाबरमा दिदीको घरमा जान्छु भनेर हिँडेकी उनी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । घर र दिदीका सबै परिवारले खोजी गरे पनि उनी कहीँ कतै फेला पार्न सकेका थिएनन् ।

हराएको छैटौँ दिन सुरक्षाकर्मीले मोटरसाइकलमा घर पुर्याएका थिए । घरका कसैलाई पनि नभेटी उनीहरू फर्किएका थिए । आमाले भनिने, ‘म बारीमा थिएँ, दुईवटा मोटरसाइकल आएर रोकिए । छोरीलाई लिएर आएका रहेछन् । म त्यहाँ पुग्न नपाउँदै उनीहरू हिँडिहाले एकजनाले पुलिसको पोसाक लगाएको थियो । उनीले केही कुरै गरेनन् ।’

सुस्तः मनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिबारे प्रस्ट भन्न सक्दिनन् र घटनाबारे सोधपुछ गर्दा बोल्दै बोल्दिनन्

पाँच दिनसम्म कहाँ थियो भनी सोधपुछ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई पुलनजिकै चारजना प्रहरीले समातेर लगेर राखेको बताउने गरेकी छिन् । कहिले उनीहरूले शारीरिक सम्बन्ध राखे भन्ने त कहिले केही गरेनन् भन्दै बोली फेर्न गरेकी छिन् । बालिकाले हरेकपटक बोली फेर्ने गर्दा पनि उनलाई बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचानमा समस्या हुँदै आएको छ ।

बालिकाकी आमाका अनुसार उनी गत वैशाख महिनादेखि महिनावारी भएकी छैनन् । छोरीको किन महिनावारी भएन भन्ने बारेमा सोचेको तर अरू केही कारणले नभएको होला भनेर सामान्यरूपमा लिए पनि छोरीको शरीर परिवर्तन भएको देखेपछि भने के कारणले यस्तो भएको भन्ने नजिकैको स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न गएपछि मात्रै छोरीको पेटमा बच्चा रहेको थाहा पाएको बालिकाकी आमाले बताइन् ।

स्वास्थ्य चौकीले कति महिनाको गर्भ छ भन्नेबारे केही नभनिदिँदा थप समस्यामा परेका छन् । बालिकाको पेटमा करिब पाँच महिना अर्थात् २० हप्ताको गर्भ भइसकेको छ । यदि गर्भपतन गराउन खोजेको खण्डमा पनि कानुनले १२ हप्ताको गर्भलाई मात्रै गर्भपतन गर्ने कानुनी मान्यता दिएको छ ।

बालिकाले आफ्नो हित र अहितबारे केही बोल्न सक्दिनन् । उनले बच्चा जन्माइहाले पनि उक्त बच्चाको जिम्मेवारी कसरी पूरा गर्लिन् । त्यसमाथि अपरिपक्व शरीर, कमजोर मानसिक अवस्था जन्मिएको बच्चा र आमा साथै परिवारलाई सामाजिक रूपमा हेर्ने गलत दृष्टिकोणबाट कसरी बच्ने पीडित परिवार चिन्तामा छ । समाजमा सहयोग गर्नेभन्दा पनि आलोचना गर्ने बढी छन् ।

घटनाबारे थाहा भएको र पीडित बालिका र परिवारलाई न्यायका लागि पहल गर्न खोजे पनि बालिकाले आफूलाई बलात्कार गर्ने व्यक्ति र स्थानबारे यकिन रूपमा भन्न नसकेको तर प्रयास जारी राखेको बाँसगढी नगरपालिका–६ का वडाध्यक्ष दशरथ चौधरीले बताए ।

बालिका बलात्कृत भई गर्भवती भएको घटनाको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै समस्या सामाधान र प्रहरी र जिल्ला प्रशासन कार्यालय बर्दियामा समन्वय र पहल प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताइन् ।

निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजंग शाहीले पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट अन्य सम्बन्धित निकायमा पत्राचार गर्ने बताए ।

प्रतिक्रिया