यू टर्न भए केसी

काठमाडौं । निर्मला बलात्कार र हत्या प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीका एक सदस्य राजीनामा दिएको ४८ घण्टाभित्रै काममा फर्किएका छन् । ज्यान मार्ने धम्की र टोलीले निष्पक्ष काम गर्न नसक्ने आफ्नो निष्कर्षका कारण भन्दै राजीनामा दिएका उनले एकाएक गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पुनः काममा फर्किएको घोषणा गरे ।

समितिमा प्रदेश–७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताएका हुन् । उनले छानबिन समितिका संयोजकसहित बसेर गरिएको छलफलमा वास्तविक दोषी पत्ता लगाउने सम्बन्धमा मन्त्रालय र आफ्नो उद्देश्यमा एकमत भएकाले पुनः छानबिन कार्यमा फर्कने निर्णय गरेको जनाएका छन् ।

समितिलाई तोकिएको १५ दिने म्याद सकिएपछि सरकारले १५ दिन थप गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै केसीले समितिको म्याद थपिँदा हत्याराले उन्मुक्ति पाउन सक्ने बताउँदै समितिबाट राजीनामा दिएका थिए ।

गृहकै सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत ७ भदौमा गठन गरेको ५ सदस्यीय छानबिन समितिका उनी सदस्य हुन् । समितिबाट राजीनामा दिएको तीन दिन नबित्दै उनी पुनः काममा फर्केका हुन् । राजीनामा दिएपछि केसीले गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए

। ज्यान मार्ने धम्की आएको बताउने केसीले समितिको थप भएको अवधिमा छानबिन कार्यमा फेरि संलग्न भई निष्पक्ष छानबिन गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग दुई घण्टा लामो छलफल भएको र सो क्रममा आफ्नो सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको बताए ।

‘तपाईंलाई कहाँबाट धम्की आएको ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले घुमाउरो जवाफ दिएका छन् । ‘भदौ १५ गते एक्लै निर्मलाको साइकल र शव भेटिएको ठाउँको अध्ययन गर्न घटनास्थलमा गएको थिएँ । सिडिओसँग गाडी मागेर निर्मलाको साइकल देखेका व्यक्ति र निर्मलाका बुबालाई मात्रै त्यहाँ बोलाएको थिएँ ।’ पत्रकारले निकै र्याखर्याख्ती पारेपछि घटनाको विवरण सुनाउँदै केसीले भने, ‘स्थलगत अध्ययन गरिरहेका वेला केही स्थानीय पनि आए ।

त्यही क्रममा एकजना मोटरसाइकलमा आएको मोटो व्यक्ति त्यहाँ आए र भने, ‘सर, तपाईंको काम सराहनीय छ । तर, यसअगाडि पनि मान्छेलाई ब्रेक फेल भयो भनेर ट्रकले किचेर मारेका छन् । अलि ख्याल गर्नुस्, सोच्नुस्’ भनेर हिँडे ।’ निकै लटरपटर जवाफ दिएका उनले थपे, ‘त्यसपछि म जिल्ला प्रशासन कार्यालयमा फर्किएको र त्यसपछि संयुक्त रूपमा मात्र अनुसन्धानमा खटिएको हुँ । तर, ती मोटो व्यक्तिको मोटरसाइकल नम्बर थाहा छैन ।’

निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको उनको भनाइ थियो । राजीनामा दिँदा आफूले भनेका विषयका बारेमा भने बुधबार उनले जारी गरेको विज्ञप्ति मौन छ । पत्रकार सम्मेलनमा केसीले अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रामबहादुर थापा पनि रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया