बाढीपहिरोमा ३ को मृत्यु, ४ बेपत्ता

लमजुङ । जिल्लामा आएको बाढीपहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर तीनजनाको मृत्यु भएको हो भने अन्य चारजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार मस्र्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोमा पुरिएर ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको छ । पहिरो आएको थाहा पाएपछि भाग्ने क्रममा उनीहरू गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनीहरूलाई उपचारका लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी अन्दाजी ४० वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनको साँझ करिब सात बजेतिर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मस्र्याङ्दीमा एक्कासि बढेको बहाबले रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत् आयोजनाको पावरहाउस निर्माणमा खटिएका दुईजना युवकलाई बगाएको छ । ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारूलाई मस्र्याङ्दीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा पनि क्षति पु¥याएको प्रवद्र्धक कम्पनीहरूले बताएको छ ।

यस्तै, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म पहिरोले अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मस्र्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षको ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने एक वृद्धलाई बाढीले बगाएको स्थानीयले जानकारी दिएका छन् ।

भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करिब आधा दर्जन घर बगाएको छ । बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

बाढीले रामबजारमा २ घर बगाएको छ । एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ । मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएको प्रहरीले जनाएको छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म ३ वटा जीप पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वाभाविक रूपमा पानीको बहाव बढेको छ । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासि आएको वर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढीपहिरो भएको र धनजनको क्षति भएको खबर आएको बताए ।

प्रतिक्रिया