प्याराग्लाइडिङ टोलीलाई जनही एक लाखसहित सम्मान

कास्की । गण्डकी प्रदेश सरकारले एसियाली खेलकुद प्रतियोगितामा रजतपदक दिलाउने प्याराग्लाइडिङ टिमलाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एसियाडमा रजत पदक दिलाउने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका सबै खेलाडी, प्रशिक्षक तथा टिम वयवस्थापकलाई मंगलबार नगदसहित सम्मान गरेको हो ।

प्रदेश सरकारले क्याप्टेन विमल अधिकारी, विशाल थापा, युकेश गुरुङ, सुशिल गुरुङ र विजय गौतमलाई नगद एक÷एक लाख तथा प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतलाई नगद २५÷२५ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले सम्मान गरेका थिए ।
मुख्यमन्त्री गुरुङले पदक दिलाएर प्याराग्लाइडिङ खेलाडीले देशको पहिचान दिलाउनुका साथै इज्जत र प्रतिष्ठासमेत बढाएको बताए । उनले प्याराग्लाइडिङलाई व्यवस्थित गर्न जरुरी रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिए ।

केहीदिन अघि टोलीलाई पोखरामा नगरपरिक्रमासमेत गराइएको थियो । एसियाली खेलकुदमा नेपालले यही विधाबाट मात्र पदक जितेको हो । अन्य सबै खेलमा नेपालले निकै निराशाजनक प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया