घोराहीमा प्रदेशस्तरीय क्रिकेट मैदान

घोराही । घोराही उपमहानगरपालिकाले ‘खेलकुद सबैका लागि ः खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रंगशाला निर्माणमा लगानी बढाएको छ ।

घोराहीलाई खेलकुद क्षेत्रको केन्द्रको रूपमा विकास गर्न स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितासमेत आयोजना गर्न मैदानको व्यवस्थापनमा पौने एक करोड खर्चिएको छ ।

उपमहानगरपालिका–१७ गुलरियामा निर्माणाधीन खेलकुद मैदानका लागि सात कठ्ठा २ धुर जग्गा खरिद गरिएको छ । मैदान साँघुरो हुने भएपछि स्थानीयवासीको जग्गा उपमहानगरले खरिद गरेको हो ।

सात कित्तामा रहेको सात कठ्ठा दुई धुर जमीन खरिद गरी मैदानलाई फराकिलो र व्यवस्थित बनाउने काम सुरु भएको इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार करिब ७५ लाख रुपैयाँमा उक्त जग्गा खरिद गरिएको हो ।

उपमहानगरले चालु आर्थिक वर्षमा खेलकुदको विकास गर्न सशर्ततर्फ एक लाख र निःशर्ततर्फ १३ लाख ६० हजार गरी १४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरप्रमुख नरुलाल चौधरीले खेलकुद सामाजिक विकासको अभिन्न अंग भएको भन्दै एक वडा एक खेलकुद मैदानलाई सार्थकता दिने दाबी गरे । वडा नं १७ मा १५ बिघाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरीय रंगशाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यसवर्ष रंगशाला निर्माण योजना बनाएको उनको भनाइ छ । गतवर्ष रंगशाला क्षेत्रभरि तारजाली गर्नुका साथै माटो सम्याउने कार्य सम्पन्न भएको छ ।

रंगशाला निर्माणसँगै दाङका खेलाडी उत्साहित भएका छन् । गुलरियामा प्रदेशस्तरको रंगशाला निर्माण गरेसँगै उत्साहित भएका खेलाडीले अब आफूहरू हौसिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा ०४१ सालदेखि सहभागिता जनाउन सुरु गरेको दाङले साढे ४ दशकको अवधिमा सन्तोषजनक नतिजा निकाल्न नसकेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए । खेल मैदानको अभावमा प्रतिभाशाली खेलाडी उत्पादन हुन नसकेको भन्दै अध्यक्ष मजगैयाले रंगशाला निर्माण भएसँगै खेलाडीमा उत्साह जागेको बताए ।

जिल्लाले हालसम्म आठ राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरेको छ । दाङका राजवीर सिंह, सुशान्तसिंह थापा, अनुप न्यौपाने, मनोज वैश्य, चुन्नु पाण्डे, अनिल गुप्ता, लक्ष्मी चौधरी र सनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका छन ।

निर्माणाधीन रंगशालाको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष मजगैँयाले टप विकेट, कपडा फेर्ने तथा नुहाउने कोठालगायतका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । उनले यी पूर्वाधारको निर्माणसँगै लिग चरणका प्रतियोगिता सञ्चालनमा ल्याउने जानकारी दिए ।

प्रतिक्रिया