इतिहास पल्टाउने दाउमा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल २०१८ को सेमिफाइनलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैैछ । पहिलोपटक फाइनल पुग्ने तथा माल्दिभ्सलाई हराउने लक्ष्यका साथ नेपाल मैदान उत्रिँदैछ ।

बंगलादेशको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने चार बजे हुने पहिलो सेमिफाइनलमा नेपालविरुद्ध बलियो इतिहास बोकेको माल्दिभ्सलाई हराउने रणनीति बनाएको छ । लयमा रहेको नेपालले माल्दिभ्सलाई हराउने लक्ष्य लिएको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । इतिहास हेर्ने हो भने नेपालले माल्दिभ्सविरुद्ध अहिलेसम्म साफ च्याम्पियनसिपमा जित निकाल्न सकेको छैन । विगतमा भएको ६ खेलमा दुई बराबरी तथा चार जित निकालेको छ ।

नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १५ प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ । ७ खेलमा भने नेपाल पराजित भएको छ । नेपालले माल्दिभ्सलाई सन १९९९ देखि पराजित गर्न सकेको छैन ।

नेपालले पछिल्लोपटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो । त्यसपछि नेपालले १९ वर्ष माल्दिभ्सविरुद्ध जित निकाल्न सकेको छैन । तर पनि यी दुई टोलीबीचको खेल सधैँ रोमाञ्चक हुँदै आएको छ ।

‘अहिले नेपाली टिम लयमा रहेको छ । अब हामी माल्दिभ्सलाई हराएर पहिलोपल्ट फाइनल पुग्नेमा आत्मविश्वासी छौँ । टिममा कुनै पनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन्,’ मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्री–म्याच कन्फ्रेन्समा प्रशिक्षक महर्जनले भने ।

उनले पुरानो इतिहास माल्दिभ्सको पक्षमा भए पनि पछिल्लो समय नेपाल हावी हुँदै आएकाले विजयी हुने विश्वास रहेको बताए । नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४—१ ले हराएको थियो । त्यस खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । त्यस्तै, नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो ।

सेमिफाइनल खेल अगाडि आयोजित प्री–म्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए । ‘हामी आत्मविश्वासी छौँ । तर, यो चाहिनेभन्दा बढीचाहिँ आत्मविश्वासी छैनौँ । मैदानमै मेहनत गरेर जित निकाल्ने छौँ ।’

नेपालले खेलेका तीन खेलमा ढाकामा रहेका विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । प्रशिक्षक र खेलाडीले पनि खेलका क्रममा समर्थक चाहिने भन्दै सेमिफाइनलमा पनि हौसला बढाउन आउन अपिल गरेका छन् । साथै, नेपालमा रहनेको सुभेच्छा रहनुपर्ने उनिहरूको जिकिर छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म ढाकामा चार खेल भएकोमा दुवै टिम १—१ मा विजयी रहेको छ ।

अर्को २ खेल बराबरीमा टुंगिएको छ । नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो ।

अर्कोतर्फ माल्दिभ्सले लिग चरणमा कुनै खेल जित्न सकेको थिएन । यस्तै, उसले अहिलेसम्म गोल पनि गर्न सकेको छैन । यसको ठीक उल्टो नेपालले लिग चरणमा ७ गोल गरेको थियो । यो नेपाली फुटबल इतिहासमै कुनै पनि प्रतियोगिताको लिग चरणमा गरेको सबैभन्दा बढी गोल हो । माल्दिभ्स यो प्रतियोगिताको एकपटकको विजेता र तीन पटकको उपविजेता हो ।

पाँचपटक सेमिफाइनलमा रोकिएको छ । पछिल्ला तीन संस्करणमा लगातार सेमिफाइनल पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन । नेपाल पनि समग्रमा पाँचौँपटक सेमिफाइनल पुगेको हो । यसअघि सन १९९५, १९९९, २०११ र २०१३ को साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । आजै साँझ पौने सात बजे हुने अर्को सेमिफाइनलमा भारतले पाकिस्तानको सामना गर्दैछ ।

प्रतिक्रिया