थप पेचिलो बन्दै कञ्चनपुर काण्ड

निर्मला हत्या तथा बलात्कारको घटना छानविन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले गत सोमबार राजीनामा दिए । अनुसन्धान जारी रहेकै वेला समितिका सदस्यले राजीनामा दिनु आफैँमा निकै पेचिलो विषय हो ।

त्यसमा पनि केसीले राजीनामाका क्रममा उठाएका केही विषय झन् पेचिला छन् । बलात्कार तथा हत्याका प्रमाण नष्ट गर्ने काम सुरुमै भएको केसीले जनाएका छन् । साथै छानविनका क्रममा आफूमाथि ज्यान मार्ने धम्की आएको समेत उनले बताएका छन् ।

उनले जारी गरेको विज्ञप्ति तथा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति विश्लेषण गर्ने हो भने अपराधी उम्काउन ठूलै शक्ति लागेको अनुमान गर्न सकिन्छ । अपराधका प्रमाण नष्ट गर्ने काममा प्रहरीको संलग्नता रहेको यथार्थतालाई प्रतिवेदनमा उल्लेख गर्न नसकिने अवस्था आएको संकेत गर्दै उनले भनेका छन्, ‘१५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानविन समिति गठन गरियो, प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुग्दै गर्दा फेरि १५ दिनको म्याद थपियो ।’

प्रतिवेदन तयार हुनै लाग्दा छानविन समितिका सदस्यलाई ज्यान मार्ने धम्की आउनु र सरकारद्वारा फेरि १५ दिन म्याद थपिनु निकै ठूलो रहस्य हो । तथ्य ओझेलमा पार्नका लागि १५ दिनको म्याद थपिएको छानविन समितिका सदस्य केसीले दाबी गरेका छन् ।

निर्मला पन्तको शव परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो । बलात्कार र हत्या, दुईवटा अपराध सँगसँगै भएको थाहा पाउँदा–पाउँदै पनि प्रहरीले छानविनमा तदारुकता नदेखाएको महसुस स्थानीय जनताले गरे ।

यथाशीघ्र अनुसन्धान गरी अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै स्थानीय जनता आन्दोलित हुँदै गएको तीन सातापछि प्रहरीले मानसिक सन्तुलन गुमाएका एक युवालाई अपराधीका रूपमा प्रस्तुत ग¥यो । यो घटनाले महेन्द्रनगरको आन्दोलनको आगोमा घिउ थप्ने काम मात्रै गरेन मुलुकभरी आन्दोलन सुरु भयो ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक बालकको ज्यान गयो भने कैयौँ घाइते भए । धेरै नै चर्को दबाबपछि सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको हो । उच्चस्तरीय छानविन समितिले पनि वास्तविक अपराधी तथा अपराधी उम्काउने मतियारहरूलाई सतहमा ल्याउन नसक्ने अवस्था रहेको भन्दै छानविन समितिका सदस्य केसीले राजीनामा दिएका छन् ।

निर्मलाको शव बरामद हुनासाथ उनको सुरुवाल तथा भित्री वस्त्र कुनै व्यक्तिले पानीले पखाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । साथै, उनी जुन घरबाट हराएकी थिइन्, एक महिनाको अवधिमा त्यो घरको नयाँ रंगरोगन गरिएको र बगैँचाका रूखहरू काटिएको समाचार आएको छ । यसको पुष्टि स्वयं घरधनीले गरेका छन् ।

निर्मला पन्त जुन घरबाट हराएकी थिइन् त्यो घरमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखको छोरो र स्थानीय मेयरको भतिजोको बाक्लो आवतजावत हुने गरेको स्थानीय जनतालाई थाहा थियो । त्यसैले, त्यहीँबाट अनुसन्धान आरम्भ होस् भन्ने माग स्थानीय जनताको थियो ।

प्रमाण नष्ट गर्ने काममा संलग्न रहेको आरोपमा सरकारले तत्कालीन प्रहरी टोलीमा रहेकाहरूलाई निलम्बन गरिसकेको छ । यो निलम्बनसँगै नयाँ छानविन टोली खटिएपछि सत्यतथ्य बाहिर आउने कुरामा स्थानीय जनता आशावादी थिए । तर, सत्यतथ्य बाहिर ल्याउन सकिने अवस्था नभएकै कारण आफूले राजीनामा दिएको डा. केसीले बताइसकेका छन् ।

नारायणहिटी हत्या काण्डको छानविन गर्न गठित उच्चस्तरीय आयोगका सदस्य तत्कालीन प्रमुख प्रतिपक्षीदलका नेता माधवकुमार नेपालले जस्तो आशंका गर्दै आयोगमा बस्न अस्वीकार गरेका थिए, यतिवेला केसीले पनि त्यस्तै, आशंका गरेका छन् । त्यतिवेला नेपाललाई आफ्नै पार्टी नेकपा एमालेले छानविन समितिबाट बाहिरिने निर्देशन दिएको थियो ।

त्यस्तो निर्देशन दिनेमध्येका एक थिए केपी ओली । ओली यतिवेला प्रधानमन्त्री छन् । कञ्चनपुर काण्डका वास्तविक अपराधीलाई सतहमा नल्याउन ओलीमाथि पनि ठूलै दबाब परेको आशंका सर्वसाधारणले गरिरहेका छन् ।

गत बुधबार नेपाल टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति र छानविन समितिका सदस्य केसीले दिएको राजीनामा संयोग मात्रै हो भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री ओलीले उक्त अन्तर्वार्ताका क्रममा शतप्रतिशत झुटो कुराहरू बोलेको महेन्द्रनगरवासीहरूले बताइरहेका छन् ।

प्रतिक्रिया