अश्लिल भन्दै ‘कथा काठमाण्डु’ लाई पत्र

काठमाडौं । संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कथा काठमाण्डु’ को प्रोमो अश्लिल भएको भन्दै युट्युबबाट हटाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको छ ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरिको अन्तररंग सम्बन्ध रहेको प्रोमो युट्टुबमा अश्लिल दृश्यसहित राखिएको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । चलचित्रको यौन दृश्यलाई लिएर चलचित्र विकास बोर्डले निर्माण पक्षसँग आपत्ति जनाएको छ ।

प्रोमोमा प्रियंका र प्रमोदबीचको शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले चलचित्रलाई विवादमा तानेको हो । सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त प्रोमो युट्युबबाट हटाउन बोर्डले निर्देशन दिएको हो ।

असोज १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रको गीत र ट्रेलरमा रहेको प्रियंका र प्रमोदबीचको इन्टिमेट सिनप्रति बोर्डले आपत्ति जनाएको हो ।

चलचित्रको प्रोमोसनका लागि तयार पारिएको गीत र ट्रेलरमा उनीहरूबीच १७ सेकेन्डको यौनसम्बन्धको दृश्यलाई दोहो¥याएर २ मिनेटको भिडियो तयार पारी अर्को एक युट्युब च्यानलले अपलोड गरेपछि उक्त भिडियो हटाउन बोर्डले पत्र नै काट्नुपरेको हो ।

यसअघि युट्युबले समेत चलचित्रको गीतलाई पोर्न सेरिजमा राखेको थियो । चलचित्रमा यौनदृश्य राखेर प्रचार प्रसारमा लागेको निर्माण टिमलाई बोर्डको पत्रले टाउको दुखाएको छ ।

अभिनेता प्रमोदले भिडियोले भन्न खोजेको सन्देश कुनै एउटा इन्टिमेट सिन हेरेर नबुझिने भन्दै पूरै सिन त्यस्तो नभएको प्रतिक्रिया दिए । उनले भने, ‘भिडियोको एक दृश्य मात्रै हेर्दा बुझिँदैन, त्यसको अनर्थ लाग्छ । यसो गर्नु गलत हो । कसैले सो सिनलाई जोडजाड पारेर भिडियो अपलोड गरेको हो र त्यसलाई हटाउन आग्रह गर्दै बोर्डको पत्र आएको हो ।’

उक्त प्रोमो तुरुन्तै नहटाइएमा कारबाही गर्ने चेतावनीसहितको पत्र चलचित्र ‘कथा काठमाण्डु’ को निर्माण टिमलाई थमाइएको छ । बोर्डले उक्त पत्र बोधार्थको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको श्रव्यदृश्य शाखामा समेत पठाएको छ । काठमाडौंका तीन फरक–फरक कथालाई चलचित्रमा देखाइएको निर्देशकको दाबी छ । प्रमोद र प्रियंकाका साथै चलचित्रमा सन्ध्या केसी, आयुषमान देषराज जोशी, संजोग कोइराला र प्रेक्षा अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया