सवारी साधनमा सहुलियत कर्जा पाइँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

नेपाल अटो मोबाइल्स डिलर्स संघको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी उद्घाटन गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए ।

देशमा नयाँ प्रकारका सवारीसाधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजस्व संकलनमा पनि वृद्धि हुने जानकारी दिए । उनले भने ‘सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन । यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।’ विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री खतिवडाले सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पुर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योग जस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने बताए । लगानीसम्बन्धी कानुन निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले दुईतिहाइ राजस्व देशको आन्तरिक स्रोतबाट संकलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताइन् । त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिइन् । सोही संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपांग्रे र चारपांग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताए ।

नेपाल अटो मोबाइल्स डिलर्स संघका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजस्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै यसमा लाग्दै आएको २ सय ५६ प्रतिशत करमा पुनर्विचार गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया