व्यवस्थित बसपार्क नहुँदा पर्यटक मर्कामा

काठमाडौं । राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ ।

व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ । विगत तीन दशकदेखि कान्तिपथ सडकबाट चल्दै आएको पर्यटकीय बस असार १५ गतेदेखि सोह्रखुट्टे सडकबाट चल्दै आएको छ ।

मेलम्ची खानेपानी आयोजनाले खानेपानीको लाइन बिच्छ्याउन सडक खनेर नपुर्दा पानी परेको वेला हिलोका कारण पर्यटकलाई बसमा चढ्न तथा ओर्लन समस्या परेको छ ।

टुरिस्ट बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रल्हाद लोहनीले मुलुकमा पर्यटनको विकास गर्नका लागि पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनुपर्ने बताए । उनले भने, ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर राजधानीमै पर्यटकका लागि भने छुट्टै बसपार्क नहुँदा समस्या परेको छ ।’

मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । अध्यक्ष लोहनीले काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि कुरा गरे पनि सरकार र महानगरपालिकाले वेवास्ता गरेको गुनासो गरे ।

सोह्रखुट्टेबाट बिहान पोखरा र चितवनका लागि पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजे पनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्र वरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो ।

पर्यटनको विकासका लागि एसोसियसनले काठमाडौंदेखि लुम्बिनी, जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको छ । राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् ।

प्रतिक्रिया